पदक विजेता एनआरएनए खेलाडी सम्मानित
काठमाडौँ, १३ वैशाख : प्रदेश ५ मा भएको आठौँ राष्ट्रिय खेलकूदको विभिन्न खेलका पदक विजेता आफ्ना खेलाडीलाई एनआरएनएले नगदसहित सम्मान गरेको छ ।
आठौँ राष्ट्रिय खेलकूदमा एनआरएनएबाट सहभागी खेलाडीले ६ स्वर्ण, दुई रजत र सात कास्य जितेका थिए । पौडीमा दोर्जेनेथन शेर्पाले सर्वाधिक पाँच स्वर्ण, एक रजत र एक कास्य जितेका थिए । लनटेनिसको पुरुष सिंगल्समा संरक्षक भूषण वज्राचार्यले एनआरएनएलाई थप एक स्वर्ण दिलाए । उनले पुरुष डबल्समा दावा सोनाम शेर्पासँग मिलरे एक कास्य पनि हात पारे ।
शुभद्र श्रेष्ठले करातेमा रजत जितिन् । अन्य कास्य विजेतामा जुडोका मोहन बम, बक्सिङका प्रदीप घिमिरे, लनटेनिसका अमृत पौडेल र करातेकी शान्ति अधिकारी रहेका छन् ।
स्वर्ण विजेतालाई रु एक लाख, रजतलाई रु ८० हजार र कास्यलाई रु ६० हजार पुरस्कारसहित सम्मानपत्र प्रदान गरियो । सहभागी खेलाडीलाई पनि प्रोत्साहनस्वरुप जनही रु ५० हजार प्रदान गरिएको थियो । एनआरएनबाट सात राष्ट्रबाट विभिन्न आठ खेलमा १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै एनआरएनएका सम्बन्धित खेलका प्रशिक्षक र निर्णायकलाई पनि रु २५ हजारका दरले पुरस्कार दिइयो । आठ प्रशिक्षक र दुई निर्णायकलाई पुरस्कार दिइएको हो । उनीहरुलाई राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, एनआरएनएका अध्यक्ष भवन भट्टलगायतले पुरस्कृत गरे ।
