करातेको अन्तर्राष्ट्रिय प्रतियोगिता चितवनमा
चितवन, १२ वैशाख : पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कराते प्रतियोगिता यहाँ हुने भएको छ । जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल सङ्घ चितवन शाखाको आयोजनामा तेस्रो इण्डो नेपाल कराते प्रतियोगिता हुन लागेको सङ्घका सल्लाहकार एवं प्रतियोगिता संयोजक पुष्प आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगिता यही वैशाख १९ देखि २१ गतेसम्म भरतपुर महानगरपालिका–१५ मङ्गलपुरमा हुने आचार्यले बताउनुभयो । प्रतियोगितामा नेपाल र भारतका ४०० खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका ३५० र भारतबाट ५० गरी ४०० खेलाडीले विभिन्न खेलमा सहभागिता जनाउनेछन् । चितवनबाट मात्र ६० खेलाडी सहभागि हुनेछन् ।
सहभागी खेलाडीले उमेर, तौल समूह र खुल्लामा प्रतिस्पर्धा गर्ने आचार्यले बताउनुभयो । ६ देखि १३ वर्षका खेलाडीले उमेर समूहमा, १३ देखि १९ वर्षकाले तौल समूह र १९ वर्ष माथिकाले खुल्लातर्फ प्रतिस्पर्धा गर्ने बताइएको छ ।
