एन्फा एकेडेमीका लागि खेलाडी छनोट शुरु
काठमाडौँ , १२ वैशाख : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडमीका लागि युवा खेलाडीको अन्तिम चरणको छनोट आजदेखि शुरु गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोस्थित एकेडमीका लागि यू–१३ र यू–१६ उमेर समूहका खेलाडी छनोट शुरु गरेको प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।
अन्तिम चरणको छनोटमा देश भरबाट छानिएर आएका खेलाडीको सहभागिता रहेको छ । एन्फाले मुलुकभरबाट छनोट भएर आएका खेलाडीबाट समान २५ र २५ जना यू–१३ र यू–१६ खेलाडी छनोट गर्नेछ ।
छनोट भएका खेलाडीलाई एन्फाले बुटवल र धरानको एकेडमीमा राखेर प्रशिक्षण गराउने छ । उनीहरुलाई एन्फाले फुटबलको प्रशिक्षणसँगै पढाइ र अन्य सुविधा उपलब्ध गराउने जनाएको छ ।
यस्तै यसै छनोटबाट आएका यू–१६ खेलाडीले एएफसी यू–१६ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने बताइएको छ ।
