आठौं राष्ट्रिय खेलकूद चैत तेस्रो साता
नेपालगञ्ज, ३ चैत : लामो समयदेखि प्रतिक्षा गरिएको आठौँ राष्ट्रिय खेलकूद यही चैतको तेस्रो साताभित्र शुरु हुने पक्का भएको छ । नेपालगञ्ज रङ्गशालामा पूर्वाधार निर्माणका काम लगभग सकिएको र विशिष्ट पाहुना बस्ने प्यारापिटको सामान पनि सोमबार नेपालगञ्ज आइपुग्ने भएकाले चैत २१ देखि २५ गतेभित्र औपचारिक शुभारम्भ हुने आठौँ राष्ट्रिय खेलकूदका प्रचार संयोजक रोहित दाहालले जानकारी दिनुभयो ।
आज नेपालगन्जमा सञ्चारकर्मीसँगको छलफलमा संयोजक दाहालले यही चैत १० गतेसम्म राष्ट्रिय खेलकूद परिषद्को बैठक बसी मिति तोकिने जानकारी दिनुभयो । राष्ट्रिय खेलकूदको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने योजना छ । बाँके, बर्दिया, दाङलगायतका ठाउँमा राष्ट्रिय खेल हुनेभए पनि उद्घाटन र समापनसहित अधिकांश खेल नेपालगञ्जमा हुनेछन् ।
खेल अवधिभरिको प्रचार सहजताका लागि सोमबारदेखि नेपालगञ्ज रङ्गशाला परिसरमा मिडिया सेन्टर खुल्ने प्रचार संयोजक दाहालको भनाइ छ । यसैगरी, खेल तयारीका लागि आज मात्र नेपालगञ्जमा विभिन्न छ तयारी समितिका बैठक बसेको प्रदेश नं ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिनुभयो । पूर्वाधारस्थलको अन्तिम अनुगमनका लागि प्राविधिक टोली फिल्डमा खटिएको पनि उहाँले बताउनुभयो । नेपालगञ्जमा मात्रै आठौँ राष्ट्रिय खेलको तयारीका क्रममा रु डेढ अर्बभन्दा बढी लगानी भएको छ ।
