निरञ्जन र विशालको जोडी विजयी
काठमाडौँ, १४ माघ : एपिएफका निरञ्जन देवकोटा र विशाल तामाङको जोडी नवौँ बबीनबिक्रम विष्ट स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगितामा विजयी भएको छ ।
बानेश्वर हाइटका प्रविण भोजु र शङ्कर रम्तेलको जोडीलाई २१–१५, २१–१० को सोझो सेटमा पराजित गर्दै उनीहरु दोस्रो चरणमा प्रवेश गरेका हुन् । भिमसेनगोलास्थित किङ्गकम स्पोर्टस् क्लबको आयोजनामा भएको पुरुष युगलमा मात्र भएको प्रतियोगिताको अर्को खेलमा देउराली क्लबका हिमांशु श्रेष्ठ र थम रानामगरको जोडीले पनि जित निकालेको छ ।
श्रेष्ठ र मगरको जोडीले ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका प्रदीप महर्जन र विकास महर्जनको जोडीमाथि २६–२४ र २२–२० को जित निकाले । खुला मैदानमा बनेको एकल कोर्टमा भएको प्रतियोगितामा जित निकाल्ने क्रममा जोरपाटी ब्याडमिन्टन क्लबका गणेश श्रेष्ठ र अमित लामाको जोडीले गुपट्याक्स ब्याडमिन्टन क्लबका मधुसुदन भण्डारी र रवीशङ्कर शर्माको जोडीलाई २१–१५, २१–१२ ले पाखा लगाउन सफल भए ।
राष्ट्रियस्तरका पुरुष एकल र पुरुष युगलतर्फ शिर्ष २० वरियतामा रहेका खेलाडीले प्रतिस्पर्धा गर्न नपाउने प्रतियोगितामा प्रथम हुने जोडीले रनिङ शिल्डका साथै रु ४० हजार, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो तथा तेस्रो हुने जोडीले क्रमश ः रु २५ हजार र रु १५ हजार प्राप्त गर्नेछन् । यही माघ २६ गतेसम्म हुने प्रतियोगिताको अनुमानित लागत करीब रु चार लाख ९५ हजार रहेको आयोजकले जनाएको छ ।
