इशाश्री र रायनाको जोडी च्याम्पियन
काठमाडौँ, ११ माघ : इशाश्री शाह र रायना शाहको जोडी १६ औँ जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा आज गल्र्स डबल्समा च्याम्पियन बनेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को टेनिस कोर्टमा भएको फाइनलमा इशाश्री र रायनाको जोडीले सुभाङ्गीलक्ष्मी शाह र अजा रेग्मीको जोडीलाई ७–६ र ६–४ को सेटमा पराजित गरे । ब्वाइज डबल्समा चिराग तिमिल्सना र राजवीर प्रधानको जोडी पहिलो भए । चिराग र राजवीरको जोडीले फाइनलमा आरभसम्राट हाडा र प्रणव मानन्धरको जोडीलाई ६–४, ३–६ र १०–४ को सेटमा हराए ।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिङ्गल्समा असभ हाडाले स्वर्ण जिते । उनले फाइनलमा सम्खाहाङ राईलाई १२–१० र १०–७ को सोझो सेटमा पाखा लगाए । सोही स्पर्धाको गल्र्स फाइनलमा शिभाली गुरुङ विजेता बनिन् । शिभालीले उपाधि भिडन्तमा साम्राज्ञी लामाको चुनौती १०–७ र १०–७ को सिधा सेटमा समाप्त पारिन् ।
गल्र्स सिङ्गल्समा प्रतिष्ठा लामाले फाइनल यात्रा तय गरिन् । दोस्रो सेमिफाइनलमा प्रतिष्ठाले शैभी ढकालमाथि ६–४ र ६–३ को जित निकालिन् । फाइनलमा प्रतिष्ठाको भेट पहिलो सेमिफाइनलकी विजेता समृद्धि महर्जनसँग हुनेछ । गल्र्स सिङ्गल्समा प्रशंसा मोक्तानले उत्शा लामालाई ६–३ र ६–१ तथा इभा अधिकारीले अद्या पौडेललाई ६–० र ६–० को सोझो सेटमा निराश पार्दै उपाधि भिडन्त पक्का गरे । त्यसै स्पर्धाको ब्वाइजमा प्रणव मानन्धरले आयुशमान हजुर घलेलाई ६–३ र ६–१ तथा सरोज तामाङले ऋदभिक कार्कीलाई ६–० र ६–० को सिधा सेटमा पन्छ्याउँदै फाइनलमा स्थान पक्का गरे ।
ब्वाइज सिङ्गल्समा आरभसम्राट हाडाले चिराग तिमिल्सनालाई ६–१ र ६–१ तथा आर्यन गिरीले प्रितम परियारलाई ७–५, १–६ र १०–७ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिताअन्तर्गत शनिबार छ स्पर्धाको फाइनल खेल हुने आयोजकले जनाएको छ ।
