नेपालगन्ज रंगशाला शिलान्यास

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको समृद्धि तथा विकासका लागि खेलकूदको माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।

आठौँ राष्ट्रिय खेलकूद २०७५ मिसनमा निर्माण गर्न लागिएको नेपालगन्ज रंगशालाको शिलान्यास गर्दै मन्त्री विश्वकर्माले खेलकूदबाट मुलुकलाई विकासको दिशातर्फ प्रवाह गर्न सकिने बताउनुभयो । उहाँले नेपालगन्जमा हुन लागेको आठौँ राष्ट्रिय खेलकूद राष्ट्रियस्तरकै प्रतियोगिता भएकाले यसलाई सफल बनाउन बजेट अभाव हुन नदिने आश्वासन दिनुभयो ।

समारोहमा राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशव विष्ट, मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राजपाका केन्द्रीय उपाध्यक्ष विजय गुप्ता, नेपाली काँग्रेस बाँके सभापति किरण कोइरालाले पनि बोल्नुभएको थियो ।

मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिद्वारा रु २५ करोडको लागतमा नेपालगन्ज रंगशाला र ट्र्याक एण्ड फिल्ड निर्माण हुन लागेको छ । कूल रु ६६ करोडमा जिल्लाको नेपालगन्ज र कोहलपुरमा खेलकूदका पूर्वाधार निर्माणको काम तीव्र रुपमा भइरहेको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभयो ।

उहाँका अनुसार सात बिघा क्षेत्रफल रहेको रंगशालामा कभर्ड हलको छाना निर्माण, सुटिङ रेञ्ज, भारत्तोलन एकेडेमी र पौडी पोखरी निर्माणको योजना पनि भइरहेको छ ।

यही मंसीर २१ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको मूल तयारी समितिका संयोजक खेलकुदमन्त्री विश्वकर्माको अध्यक्षतामा नेपालगन्जमा बसेको पहिलो बैठकले तयारीलगायतका विषयमा छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.