विश्व च्याम्पियन महर्जन सम्मानित
काठमाडौँ, १४ पुस : दशौँ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनशिपमा स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कुलले आज नगदसहित सम्मान गरेको छ ।
शुभताराको २० औँ वार्षिक खेलकूद दिवसका समापन अवसरमा शुभताराकी निर्देशक रानी गुरुङ कक्षपतिले महेश्वरलाई रु ५० हजारसहित सम्मानपत्रबाट सम्मान गर्नुभयो ।
थाइल्याण्डको चाङमइमा गएको मङ्सिर २५ देखि पुस २ गतेसम्म भएको उक्त प्रतियोगितामा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण जित्दै इतिहास रचेका थिए । नेपाली शारीरिक सुगठनको इतिहासमा महेश्वरले जितेको उक्त स्वर्ण पहिलो हो । महेश्वर एशियाली शारीरिक सुगठनमा पनि स्वर्ण जित्ने एक्लो नेपाली खेलाडी हुन् ।
यसअघि महर्जनलाई थाइल्याण्डस्थित नेपाली दूतावास तथा नेपाल शारीरिक सुगठन सङ्घले क्रमशः रु दुई लाख ५० हजार र रु तीन लाखद्वारा सम्मान गरिसकेको छ ।
औषधि बिक्री प्रबन्धक सङ्गठनद्वारा पनि पुरस्कृत
नेपाल औषधि बिक्री प्रबन्धक सङ्गठनले महेश्वर महर्जनलाई शनिबार यहाँ एक कार्यक्रममा रु एक लाख एक हजार नगदसहित सम्मान गरेको छ ।
हालै सम्पन्न १०औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पिनसिपमा विश्वविजेता बनेर महर्जनले राष्ट्रको गौरव बढाएको भन्दै सो सम्मान गरिएको हो ।
कार्यक्रममा वरिष्ठ चिकित्सक सन्दुक रुइतले महर्जनलाई सम्मान गर्दै मुलुकको राष्ट्रियता अहिले कमजोर भएकाले खेलाडीले राष्ट्रियतालाई उँचो बनाएर सामाजिक एकता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले आफूले पनि अन्तर्राष्ट्रिय पदक ग्रहण गर्दा देशका लागि केही गरौँ भन्ने ऊर्जा थपिने गरेको अनुभव सुनाउनुभयो ।
सम्मानित महर्जनले खेलकूदका माध्यमबाट आफूले प्राप्त गरेको सफलता सबै नेपालीको गौरवको विषय भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सुरजीत दत्त, नेत्रनाथ पौडेललगायतले महर्जनले अन्तर्राष्ट्रिय तहमा भएको उक्त प्रतिस्पर्धामा नेपाल र नेपालीको गौरव बढाएकामा खुशी व्यक्त गर्दै उहाँको जीवनको सफलताको शुभकामना दिनुभयो ।
