ए डिभिजन लिग मङ्सिर १ देखि

काठमाडौँ, १० कात्तिक : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा जारी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग आगामी मङ्सिर १ गतेदेखि पुनः शुरु हुने भएको छ ।

असोज १३ गतेदेखि शुरु भएको भएको लिग बङ्गबन्धु गोल्डकपका कारण दुई दिनपछि नै स्थगित भएको थियो । त्यसपछि लिग तालिका परिमार्जित गरेर दशैँ अगाडीसम्म पहिलो चरणका खेल भएका थिए ।

दशैँ र तिहारका कारण एन्फाले ४२ दिनका लागि लिग स्थगित गरेको थियो । “अब मङ्सिरको १ गतेदेखि पूर्ण खेल तालिकासहित लिग शुरु गर्ने सहमति भएको छ”, लिग निर्देशक सञ्जिव मिश्रले भन्नुभयो ।

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउने छन् । लिगको चौँथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउने छन् । फेयर प्ले टिमले रु एक लाख पाउनेछ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ ।

यस्तै, लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लोपटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.