गौतम नेपालकै पहिलो चेसका अन्तरराष्ट्रिय आयोजक

पशुपतिनगर, २६ असोज : जर्जियाको बाटुमीमा सम्पन्न विश्व बुद्धिचाल महासङ्घको ८९ औँ फिडे काङ्ग्रेसबाट इलामका विदुर गौतमले अन्तरराष्ट्रिय आयोजकको उपाधि प्राप्त गर्नुभएको छ ।

नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम सो उपाधिसँगै अन्तराष्ट्रिय आयोजक प्राप्त गर्ने नेपालको पहिलो चेस खेलाडी बन्नुभएको छ । उपाधिपछि उहाँले अन्तरराष्ट्रियस्तरका बुद्धिचाल प्रतियोगिता आयोजना र सञ्चालन गर्न पाउनुहुनेछ । सन् २०११ जुन ४ देखि ७ सम्म युएइको अल–एनमा भएको दोस्रो प्रेसिडेन्ट बोर्ड मिटिङबाट अन्तरराष्ट्रिय आर्बिटरको उपाधि प्राप्त गर्नुभएका उहाँ सन् २०१८ सेप्टेम्बरमा विश्व बुद्धिचाल महासंघअन्तर्गत सी लेभलको अन्तरराष्ट्रिय आर्बिटरसमेत बन्नुभएको थियो । सेप्टेम्बर २६ देखि ६ अक्टोबरको ८९ औँ फिडे काङ्ग्रेसबाट उहाँ अन्तरराष्ट्रिय आयोजकको उपाधि पाउन सफल हुनुभएको हो ।

उहाँकै पहलमा इलाममा २०७३ जेठ ७ देखि १० गतेसम्म १९ औं राष्ट्रिय बुद्धिचाल र चौथो महिला च्याम्पियनसिप प्रतियोगिता भएको थियो । उहाँले गत वर्ष असोज ३ गतेदेखि टङ्कमाया गौतम स्मृति चेस प्रतियोगिता आफ्नो गृहनगर देउमाईमा आयोजना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.