फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन

Argentina lift the FIFA World Cup trophy

काठमाडौं, ४ पुस : अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ ।  

आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो ।

फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।

लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो ।

अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे ।

तर, किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके । कोम्यानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले बचाए भने चुवामेनीको प्रहार बाहिरिएको थियो ।

त्यसअघि खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।

खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।

फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।

यस गोलसँगै विश्वकपमा कीर्तिमानी २६ औं खेल खेलेका मेस्सी समूह चरणबाट फाइनल चरणसम्म गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २-० गोलको अग्रता दिलाए । उनले म्याक एलिस्टरको पासमा गोल गरे ।

तर, दोस्रो हाफमा एमबाप्पे चम्किदा फ्रान्सले पुनरागमन गर्यो ।

८० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ को स्थितिमा ल्याए ।

अर्जेन्टिनाका निकोलस ओटामेन्डीले राण्डल कोलो मुवानीले पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । जसमा एमबाप्पेले सहज गोल गरे ।

खेलको ८१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-२ गोलको बराबरीमा ल्याए । उनले मार्कुस थुरामको पासमा उत्कृष्ट गोल गरे ।

अतिरिक्त समयमा समेत दुबै टोलीले थप एक एक गोल गरेको थियो ।

खेलको १०९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई पुन: ३-२ को अग्रता दिलाए ।

तर, खेलको ११८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए ।

अर्जेन्टिनाका गोन्जालोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल पेनाल्टीमा गएको थियो ।

अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका कप्तान लिओनेल मेसीले गोल्डेन बल जिते। उनले प्रतियोगितामा सात खेलबाट समान सात गोल गरे। यस्तै उनले तीन वटा गोलका लागि सहयोग गरेका थिए।

यसअघि सन् २०१४ को विश्वकपमा पनि गोल्डेन बल जितेका मेसी यो अवार्ड २ पटक पाउने पहिलो खेलाडी बने।

सन् १९८२ को स्पेन विश्वकपबाट यो अवार्ड दिन थाले यता दुई पटक यो पुरस्कार जित्ने मेसी पहिलो खेलाडी हुन्।

यता प्रतियोगिताको सर्वाधिक गोलकर्ता फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट जिते। उनले सात खेलमा ८ गोल र दुई असिस्ट गरेका थिए।

फ्रेन्च सुपरस्टार केलिएन एम्बाप्पे विश्वकपको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

यसअघि १९६६ मा इंग्ल्याण्डका जिओफ हर्स्टले फाइनलमा ह्याट्रिक गरेका थिए ।

२३ वर्षीय एम्बाप्पेले फाइनलमा ह्याट्रिक गर्दै खेललाई बराबरीमा ल्याए पनि उनको टिम पेनाल्टी सुटआउटमा स्तब्ध भएको थियो।

सन् २०१८ मा फ्रान्सले क्रोएसियालाई हराउँदै विश्वकप जित्दा एम्बाप्पेले एक गोल गरेका थिए। 

यस्तै अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ जितेका छन्। कतार विश्वकपमा उनले तीन क्लिन सिट राखेका थिए भने दोहामा सबै खेलका सबै मिनेट खेलेका उनले फाइनलमा भएको पेनाल्टी सुटआउटमा फ्रान्सका किंग्सले कोमनको प्रहार रोकेका थिए।

यस्तै, अर्जेन्टिनाकै इन्जो फर्नान्डेज प्रतियोगिताका उदयीमान युवा खेलाडी चुनिएका छन्। उनले समूह चरणमा मेक्सिकोविरूद्ध गोल गरेका थिए। यस्तै फिफा फेयर प्लेको अवार्ड इंग्ल्यान्डले जितेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.