क्रिकेट प्रशिक्षक वाटमोरले दिए राजीनामा

काठमाडौं, ११ भदौ : नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले मुख्य प्रशिक्षक वाट्मोरले राजीनामा दिएको पुष्टि गरेका छन् । सेप्टेम्बर १३ देखि २० सम्म हुने नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिज मुख्य प्रशिक्षकबाट बिदा लिन चाहेको उनले उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा उनले महामारीका बेलामा परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेका छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘उहाँले व्यक्तिगत कारण भन्दै राजीनामा दिनु भएको छ । हामी उहाँसँग एक पटक छलफल गर्छौं ।’

नेपाली क्रिकेट टोली अहिले त्रिदेशीय शृंखलाका लागि ओमानमा छ । ओमानमा नेपालले भदौ २८ देखि असोज ४ गतेसम्म त्रिदेशीय शृंखला खेल्नेछ । त्यसअघि नेपालले पीएनजीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट ह्वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनले क्यानसंग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका हुन् ।

वाटमोर डिसेम्बर २०२० मा नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनले २०२१ जनवरीबाट नेपाली टोलीको प्रशिक्षण सम्हालेका हुन् । श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन् ।

उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो । श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक वाट्मोर नेपाल आउनु अघि सिंगापुरको प्रशिक्षक थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.