सज्जा चौलागाईंले जितिन् नेपाल आइडलको उपाधि

काठमाडौं, १३ भदौ : सज्जा चौलागाईंले नेपाल आइडल सिजन–३ को उपाधि जितेकी छिन् । यसअघिका दुई वटै उपाधि पुरुष प्रतिस्पर्धीले जितेकामा यसपटक महिलाले उपाधि जितेर गौरव बढाएकी छिन् ।

शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुम्न सफल भएकी हुन् ।

उनले प्रवीण बेडवाल र किरण कुमार भुजेललाई पछि पारेकी हुन् । प्रवीण बेडवाल फस्ट रनरअप बन्न सफल भए । यस्तै, वाइल्ड कार्डबाट प्रवेश गरेका किरण कुमार भुजेल भने तेस्रो स्थानमा सीमित रहे ।

दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन् ।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको थियो ।

नेपाल आइड–३ को उपाधिसहित विजेता सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअप प्रवीण बेडवालले १० लाख र सेकेन्ड रनरअप किरण कुमार भुजेलले पाँच लाख नगद प्राप्त गरेका छन् ।

आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको छ ।

आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन् । कार्यक्रमको निर्णायक मण्डलमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका छन्।

मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.