राष्ट्रकविले आफ्नो मृत्युपछि सार्वजनिक गर्नू भनी लेख्नुभएको अन्तिम गीत

रामबहादुर थापा । बागलुङ, १० भदौ : सङ्गीतकार आशिष अविरललाई द्विविधा आइलाग्यो जब कविवर माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि सार्वजनिक गर्नू भनी लेख्नुभएको गीतमा धुन भर्नुपर्ने भयो ।

मूर्धन्य स्रष्टाको गीतमा सङ्गीत गर्न पाउनु उहाँका लागि चुनौती र अवसर दुवै थियो । “गीतलाई न्याय गर्न सक्दिन कि भन्ने लाग्यो, सङ्गीत गर्दिन भन्न पनि सकिनँ”, अविरलले भन्नुभयो, “एक किसिमको द्विविधाजस्तो भयो, गरुँ मृत्युको गीत, नगरुँ राष्ट्रकविजस्तो ‘लिजेन्ड’को इच्छा ।”

गत साता दिवङ्गत हुनुभएका कविवर घिमिरेद्वारा रचित उक्त गीत ‘त्यसरी होस् मरण…’ मा मृत्युकालिक कल्पनाको चित्रण छ । गीतमा गायक कर्णदासले स्वर दिनुभएको छ । “सागरमा ज्वारभाटा आउँदाको वर्णनजस्तो हो यो”, अविरलले भन्नुभयो, “एउटा विशिष्ट परिस्थितिलाई लिएर बनाइएको गीत हो ।” दुई वर्षअघि रेकर्ड भएको उक्त गीत कविवर घिमिरेको निधनलगत्तै सार्वजनिक गरिएको थियो । विसं २०१६ मा रचित गीतलाई कविवर घिमिरेकै इच्छाअनुसार परिवारजनले रेकर्ड गराएका थिए ।

“कविज्यूको परिवारका तर्फबाट अशेष शर्मा र मन्दिरा ढुङ्गेल सङ्गीतका लागि मकहाँ आउनुभयो”, सङ्गीतकार अविरलले भन्नुभयो, “उहाँहरुले गीतका बारेमा सबै बताउनुभयो, मृत्युपछि बजाउनुपर्ने गीत भनेपछि त्यो त मेरा लागि मथिङ्गल हल्लाउने कुरा थियो, म केही डराएँ पनि ।” परिवारका तर्फबाट निसङ्कोच काम गर्न आग्रह भएपछि आफू सङ्गीतका लागि तयार भएको उहाँले सुनाउनुभयो । पछि कविवर घिमिरेकी जेठी छोरी शान्ति अधिकारी बुबाको इच्छाअनुसार तयार पारिएको लोकशैलीको धुन लिएर सङ्गीतकार अविरलकहाँ पुग्नुभयो ।

“सेलो गीतको धुनजस्तो परिकल्पना गर्नुभएको रहेछ, त्यसमै टेकेर मेरो धर्मले भ्याएसम्म र कविज्यूको इच्छा पनि नमर्ने गरी सङ्गीतबद्ध गरेँ”, उहाँले भन्नुभयो, “मृत्युको क्षण र प्रक्रियालाई सङ्गीतमार्फत भन्नुथियो, सक्दो प्रयास गरेँ भन्ने लाग्छ ।” उहाँलाई गीतमा सङ्गीत गर्न महिना दिन लागेको थियो । कविवर घिमिरेका परिवारजन र आफूबीचको सल्लाहपछि स्वरका लागि गायक कर्णदासलाई रोजिएको सङ्गीतकार अविरलको भनाइ छ । गीतको रेकर्ड उहाँकै राग रेकर्डिङ स्टुडियोमा गोप्यरूपमा गरिएको थियो ।

देशको विशिष्ट प्रतिभासँग जोडिन पाउनु आफ्नो साङ्गीतिक जीवनकालकै महत्वपूर्ण उपलब्धि भएको अविरलले बताउनुभयो । “सङ्गीतका लागि मलाई खोज्दै आउनुभयो, मेरो कामप्रति जुन विश्वास गर्नुभयो, त्यो मेरा लागि ठूलो सौभाग्य हो”, उहाँले भन्नुभयो । गीत रेकर्ड भइसकेपछि कविवर घिमिरेलाई भेट्ने दृढ इच्छा भए पनि त्यो अधुरै रहेको अविरलले उल्लेख गर्नुभयो । सङ्गीतकारसँग भेट हुँदा गीतबारे कुराकानी हुनसक्ने र गोपनीयता गुम्ने डरले पनि भेटको वातावरण नमिलेको हुनसक्छ ।

कविवर घिमिरेले उक्त गीत आफूलाई नसुनाउन र मृत्युपछि मात्र सार्वजनिक गर्न परिवारजनलाई आग्रह गर्नुभएको थियो । गीतमा मृत्युको स्वीकारोक्ति छ । गीतको भावभूमि सहज मृत्युवरण हो । “कविज्यूको गहिरो सोच र विशाल हृदयको अभिव्यक्ति गीतमा छ”, अविरलले भन्नुभयो । गीत सार्वजनिक भएपछि त्यसको सङ्गीत पक्षलाई लिएर विभिन्न प्रतिक्रिया उब्जेको उहाँको भनाइ छ । “कतिपयले सङ्गीतमा अपूर्णता छ भनेर पनि टिप्पणी गर्नुभएको छ, तर साहित्यिक र साङ्गीतिक क्षेत्रका प्रबुद्ध व्यक्तिहरुले ऐतिहासिक गीत बन्यो भन्नुभएको छ, म उत्साहित छु ।”

मृत्युपछि बजाउन तयार गरिएको भए पनि उक्त गीत शोकगीत जस्तो नभएको उहाँको भनाइ छ । “मानिसलाई दुःखी बनाउने, रुवाउनेभन्दा पनि यो गीतको भाव अलिक भिन्न छ, त्यहीअनुसार यसको सङ्गीत तयार गरिएको छ”, अविरलले भन्नुभयो । गीतमा जीवन–दर्शन र सहज मृत्युको इच्छा प्रकट भएको उहाँको भनाइ छ ।

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका अविरलले हालसम्म १०० भन्दा बढी गीतमा सङ्गीत दिनुभएको छ । आफ्नो २० वर्षको साङ्गीतिक जीवनकालमा झण्डै चार हजार गीतमा सङ्गीत संयोजन गर्नुभएको छ ।

गायक नरेन्द्र प्यासी र गीतकार आनन्द अधिकारीसँगको सहकार्यमा सार्वजनिक आधुनिक गीत सङ्ग्रह ‘बास्ना’मा उहाँको सङ्गीत छ । चलचित्र ‘ए मेरो हजुर’को गीतमा सङ्गीतसँगै स्वर पनि अविरलले दिनुभएको छ । लोकदोहोरी, चलचित्र, आधुनिक, गजललगायतका विधामा उहाँ सक्रिय हुनुहुन्छ ।

राष्ट्रकविको मृत्युपछि सार्वजनिक गर्नू भनी लेख्नुभएको गीत

‘त्यसरी होओस् मरण……

जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।

……..

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।
……….
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंँमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।
…..
अमरापुरी सभामा आफैँलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।”

यस गीतको संगित परिकल्पना राष्ट्रकवि घिमिरेका छोरी शान्ति अधिकारी, संगीत कम्पोजर तथा एरेन्जर आशिष अविरल, बाँसुरी गोपाल घटानी, डम्फू, मादल र तबला भुवन गन्धर्व, सारंगी हेमन्त कान्छा रसाइली, गितार सञ्जीब बराइली, बेस गितार अनुप दासले गरेका छन् ।

यस्तै भायोलिन नोर्बू छिरिङ आप्पा, मोहनकृष्ण कार्की दली, गणेश परियार, मनोहर सुनाम र रविन कार्की दली दिएका छन । यस गीत शान्ति शर्मा अधिकारी, अशेषकान्त शर्मा र मन्दिरा ढुंगेलले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.