भारतीय गायिका भोस्लेद्वारा राष्ट्रपति भण्डारीसँग भेटघाट 

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटपछि भारतीय गायिका आशाभोस्ले । तस्बिर सौजन्य: साधना कला केन्द्र

काठमाडौँ, ११ पुस : भारतीय चर्चित गायिका आशा भोस्लेले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नुभएको छ । भोस्लेले आज राष्ट्रपति निवास शीतल निवासमा पुगी राष्ट्रपतिसँग आज भेटघाट गर्नुभएको हो । शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन उहाँ बुधबार नेपाल आउनुभएको हो । साधना कला केन्द्रको आयोजनामा हुन लागिरहेको बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन भोस्ले नेपाल आउनुभएको हो ।

राष्ट्रपति भण्डारीले भोस्लेले नेपाली गीतसङ्गीतको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेको भेटघाटमा संलग्न केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभयो । “उहाँका गीतबाट राष्ट्रपति भण्डारी निकै प्रभावित हुनुहुँदो रहेछ”, मोक्तानले भन्नुभयो, “भोस्लेसँग भेट गर्न पाउँदा राष्ट्रपति धेरै खुशी हुनुभयो ।” भेटमा देशको समसामयिक घटनाक्रमका विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । भोस्लेले नेपालमा आफूले सोचेभन्दा धेरै सम्मान पाएको विषय राष्ट्रपतिलाई अवगत गराउनुभयो”, मोक्तानले भन्नुभयो, “विमानस्थलमा नेपाली संस्कृतिले गरेको स्वागत स्मरणयोग्य रहेको उल्लेख गर्नुभयो ।”

शनिबार हुने कार्यक्रममा गायिका भोस्लेले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है लगायतका आफूले स्वर दिएका थुप्रै नेपाली गीत गाउनु हुनेछ । उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनेछन् । केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार पनि नेपाल आउनुभएको छ । भोलि हुन लागिरहेको कार्यक्रमले नेपालको साङ्गीतिक क्षेत्रमा दीर्घकालीन महत्व राख्ने मोक्तानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.