केराबारीका तरुणले स्थापना गरे ‘फुड बैंक’
सुमित्रा फुयाल । केराबारी, मोरङ, ९ भदौ : विश्वभरी फैलिइएको कोरोना संक्रमणबाट बच्न नेपालले पनि २०७६ साल चैत्र ११ गतेबाट देशव्यापी सुरु गरेको लकडाउन अहिले पनि करिब ५० जिल्लामा जारी छ । लकडाउनका सूरुवाती दिनमा त राहत बाँड्ने होडवाजी नै चलेको थियो । फेशन जस्तै बनेको राहत वितरणको लहर कोरोना कहरको एकदुई महिना पछि स्वाट्टै हरायो । जति जति लकडाउनको समय लम्बिँदै गयो उतिउति निम्न आय भएका र ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरु झनझन समस्यामा पर्दै गए ।
सरकारका निकायहरुले यस तर्फ खासै चासो नदिई रहेको बेला ‘मास्क बैंक’ सुरु गरेका मोरङको केराबारी गाउँपालिकाका तरुणहरूले अहिले भने ‘फुड बैंक’ सुरुवात गरेका छन । ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ नाराका साथ सूरु गरिएको उक्त बैंकमा मानिसलाई दैनिक आवश्यक पर्ने दाल, चामल, नुन, तेललगायत अति आवश्यक खाद्यान्नहरू स्थानीय स्तरमै संकलन गरेर राखिएको छ । लकडाउ गरिएका स्थानहरूमा मानवीय जीवन दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको विषम परिस्थिमा कोहि पनि भोकभोकै बस्न नपरोस भन्ने उदेश्यका साथ ‘फुड बैंक’ स्थापना गरिएको हो ।
नेपाल तरुण दल केराबारीका युवा नेता पप्पु साहको अगुवाईमा सूरुवात गरिएको उक्त अभियानमा स्थानीयहरुको पनि राम्रो साथ र सहयोग पाएको छ । अभियानको तेस्रो दिन सम्म आई पुग्दा सेवा लिन आउनेको उपस्थिति र हामीले पाएको प्रतिक्रिया र साथ सहयोगले हामीलाई थप काम गर्ने हौसला बढेर गएको त छदैछ यो कार्यक्रम लाई अझ प्रभावकारी बनाउन आइरहेको आर्थिक सहयोगको लागि हामी हृदय देखिनै आभारी रहेको साह बताउनु हुन्छ ।
मास्क बैंकबाट सुरु भएको अभियानले पाएको हौसलाबाट उत्साहित भएर आफुहरुले ‘फुड बैंक’ सञ्चालन गर्न प्रेरणा मिलेको साह बताउनु हुन्छ । वडा नं. १० बाट सुरु गरिएको बिहान ९ देखि १० बजेसम्म दिनहुँ सञ्चालन हुने यो ‘फुड बैंक’ अन्य वडाहरुमा पनि विस्तार गरिने साह बताउनु हुन्छ ।
