नेपालमै पहिलो रक्त सङ्कलन एम्बुलेन्स

काठमाडौँ, ९ भाद्र : पोखरा – पोखरामा रक्तदान गर्न इच्छुकको घरमै पुगेर रगत सङ्कलन गर्ने एम्बुलेन्स सञ्चालनमा आएको छ ।

कुनै विशेष कार्यक्रम आयोजना गरेर रक्तदान गर्ने परिपाटी अन्त्य गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीले जुनसुकै बेला रक्तदान गर्ने इच्छुकका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

कोही रक्तदान गर्न इच्छुक भए रेडक्रसमा फोन गर्नासाथ एम्बुलेन्समा रक्तदानका लागि आवश्यक सामग्री तथा स्वास्थ्यकर्मीको टोली घरमै पुग्ने व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ । गत चैत ६ गतेदेखि सञ्चालनमा आएको एम्बुलेन्सले हरेक महिनामा ७५० देखि आठ सय युनिटसम्म रगत सङ्कलन गर्ने गरेको रेडक्रस कास्कीका मन्त्री धर्मराज अधिकारीले जानकारी दिए ।

रगत सङ्कलन गर्न सहरी क्षेत्र मात्रै नभएर ग्रामीण क्षेत्र र अन्य जिल्लामा समेत पुगेको उहाँले बताउनुभयो । उक्त एम्बुलेन्समा एकै पटकमा चार जनाले रक्तदान गर्न मिल्ने व्यवस्था मिलाइएको रेडक्रस सोसाइटी कास्कीका सदस्य सन्तोष अधिकारीले बताए ।

कोरोना भाइरस विरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान कार्यक्रम आयोजना हुन नसक्दा रक्तसञ्चार केन्द्रमा आगामी दुई/तीन दिनलाई पुग्नेबाहेक रगत नरहेको र केही दिनमा रगत अभाव हुने देखिएकाले दुई वा दुईभन्दा बढी व्यक्तिले रक्तदान गर्न चाहेमा सम्बन्धित व्यक्ति रहेकै ठाउँमा रक्त सङ्कलन एम्बुलेन्स पुग्ने गरेको मन्त्री अधिकारीले बताए ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले सञ्चालनमा ल्याएको रक्त सङकलन एम्बुलेन्स(घुम्ती बस) । रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङजुको संयुक्त लगानीमा रु एक करोडको लगानीमा सो एम्बुलेन्स बस सञ्चालनमा ल्याइएको हो । तस्वीर: कृष्ण दवाडी

यो समाचार आजको गोरखापत्र दैनिकमा एकराज गिरीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.