झापामा एकै पोखरीमा डुबेर तीन बालकको मृत्यु
सन्तोष शर्मा । बनियानी, ८ साउन : झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।
बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अंकुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डुबेर मृतावस्थामा फेला परेका थिए । उनीसँगै बेपत्ता भएका करण र अर्जुनको खोजतलास गर्ने क्रममा आज सोही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए । दुवै बालकको शव निकालिएको प्रवक्ता थापाले बताउनुभयो । उक्त पोखरीमा माछा मार्न र पौडी खेल्न तीनै जना बालकसँगै गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पोखरीमा डुबेर एकै गाउँका तीन बालकले ज्यान गुमेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले खाल्डो दलदलमा परिणत भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । मृतक अङ्कुश एसियन स्टार बोर्डिङ स्कूल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए ।
निर्माण कम्पनीले मापदण्ड नअपनाउँदा घटना भएको मृतक बालक अङ्कुशका काका आशिष तामाङले बताउनुभयो । “भतिजसहित अन्य दुई बालकको मृत्यु भद्रपुर नगरपालिका र निर्माण कम्पनीको चरण लापरवाहीको कारण भएको हो”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड किन अपनाएन र बर्खाको बेला त्यहाँ कम्पनीले कर्मचारी राख्नु पर्दैन ।”
तीन बालकको मृत्युले वडावासी नै शोकमा डुबेको स्थानीय फागु सुब्बाले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीको लापरवाहीले नै गाउँमा यस्तो ठूलो घटना भयो, यसका लागि हामी कानूनी उपचारमा जान्छौँ ।” कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको थियो । निर्माण कम्पनी आरएण्डसी नयाँ युग जेभीले रु चार करोड ३८ लाख तीन हजार ५७९ मा २०७८ असारसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।
डुबान र पहिरोबाट १७ को मृत्यु
वर्षायाम शुरु भएयता झापामा पहिरामा परेर र डुबेर १७ जनाले ज्यान गुमाएका छन् । गत महिनाको असार १० गतेयता जिल्लाका विभिन्न नदी तथा तलाउमा डुबेर १७ जनाले ज्यान गुमाएका हुन् भने दुई बालक अझैं बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार मात्रै डुबेर एक बालकसहित तीन जनाको मृत्यु भएसँगै झापामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको हो । बुधबार राति ८ बजे भद्रपुर नगरपालिका– २ निवासी अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश तामाङको डुबेर मृत्यु भएको थियो ।
दिउँसो घरबाट खेल्न निस्किएका उनी रातिसम्म घर नफर्किएपछि खोजीगर्ने क्रममा नयाँ सीमसार क्षेत्रमा राति डुबिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उनीसँगै खेल्न गएका सोही ठाउँका कमला थामीका छोरा १४ वर्षका करण र उनका भाई १२ वर्षका अर्जुन बेपत्ता भएका छन् । राति २ बजेसम्म खोजी गर्दा उनीहरु नभेटिएको सीमा प्रहरीचौकी पृथ्वीनगरले जनाएको छ । आज बिहानदेखि पुनः उनीहरुको खोजी कार्य शुरु गरिएको जनाइएको छ ।
त्यस्तै बुधबार साँझ.५.३० बजे दमक नगरपालिका २ स्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका– ५ बस्ने ४५ वर्षीय राम केरुङ मृत फेला परेका छन् । त्यस्तै साँझ ७ बजे झापा गाउँपालिका– ६ निवासी ६५ वर्षीया हरिमाया सार्की घरपूर्व रहेको बाँसघारीमा मृत फेला परेकी छन् । निगुरो टिपेर फर्कने क्रममा खेतको आलीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । त्यस्तै देउनीया खोलाले बगाएर भद्रपुर– २ का ५० वर्षीय कुमार गजमेरको मृत्यु भएको छ । उनलाई साउन ६ गते खोलाले बगाएको थियो ।
मेचीनगर– ९ का १५ वर्षीय विवेक दर्नाललाई वुद्धशान्ति गाउँपालिका ७ मोतिडाँडामा आफन्तको घरमा पाहुना आएका बेला घरमाथिबाट खसेको पहिरोले पुर्दा मृत्यु भएको हो । हिले खोलाले बगाउँदा अर्जुनधारा– ११ तीन पैनीकी ३ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषि मुर्मू रहेकी छिन् । उनको साउन १ गते मृत्यु भएको हो । टाङटिङ खोला तर्ने क्रममा खोलाले बगाउँदा अर्जुनधारा– २ साकेलाका ६० वर्षीय फत्तेबहादुर बस्नेतको मृत्यु भएको हो । घर नजिकैको खहरे खोलाले बगाउँदा कचनकवल– ३ निवासी ३५ वर्षीय किलु टुडूको मृत्यु भएको छ ।
भद्रपुर– २ का ७ वर्षीय बालकको असार २८ गते सेफ्टी ट्याङ्कीमा डबेर मृत्यु भएको छ । त्यस्तै भद्रपुर– ३ का ३३ वर्षीय हिरण राईको मेची खोलामा डुहाउने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । उनलाई मेची खोलाले असार २७ गते बगाएको थियो । उनको शव कचनकवल ५ वागाडाँगी नजिकै खोला किनारमा असार ३० गते फेला परेको थियो । विरिङ खोलाले बगाउँदा झापा गाउँपालिका– ५ का २५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ । छिमेकीको मलामी गएको बेला खोलामा नुहाउन पसेका बेला उनलाई खोलाले बगाएको थियो ।
उता कमल गाउँपालिका– ५ टुक्रेका ३५ वर्षीय पुष्प राईको रतुव र चाजु खोलाको दोभानमा आएको बाढीले बगाएर मृत्यु भएको छ । घर नजिकै कुलोमा जमेको पानीमा डुबेर झापा गाउँपालिका –७ रमितेका ३६ वर्षीय नरबहादुर पुलामी मगरको मृत्यु भएको हो । उनको असार १५ गते मृत्यु भएको थियो । यता शिवसताक्षी नगरपालिका– ८ का ३ वर्षीय बालक कुमार विष्टको घर नजिकै कुलोमा डुबेर मृत्यु भएको हो । उनको असार १२ गते निधन भएको थियो भने बाह्रदशी गाउँपालिका–७ कञ्चनबारीका डेढ वर्षीया बालिका अनुषा टुडूको कुलोमा डुबेर मृत्यु भएको छ । उनको असार १० गते मुत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
