कृष्णनगरमा गोली चल्दा एकको मृत्यु, ५० राउण्ड अश्रुग्यास प्रहार

कपिलबस्तु, १४ कात्तिक : लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्ने विषयमा स्थानीयवासीबीच विवाद भएपछि यहाँ जारी निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले चलाएको गोली लागि कृष्णनगर नगरपालिका– २ का २० वर्षीय सुरजकुमार पाण्डेको आज मत्यु भएको छ ।

कृष्णनगर बजार क्षेत्रमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ बजेदेखि लागू हुनेगरी अनिश्चित निषेधाज्ञा जारी गरेको छ । बुधबार भएको उक्त झडप उग्र बनेपछि निषेधाज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । झडपमा परी केही स्थानीयवासी र प्रहरीसमेत घाइते भएका छन । विषय सामान्य भए पनि विवाद उत्कर्षमा पुगेकाले अवस्था जटिल बनेको प्रहरीको भनाइ छ । प्रहरीले झडपलाई नियन्त्रण गर्न बुधबार ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

आज बिहान जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यलयदेखि उत्तर तर्फ ७०० मिटर, पश्चिम तर्फ ७०० मिटर,पूर्व तर्फ ३०० मिटरमा निषेधाज्ञा लगाएको जनाएको छ । निषेधाज्ञा आदेश अवज्ञा गरे कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासनले जनाएको छ ।

मृत्यु हुने भारतीय

कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ । उनी वढ्नीसंँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताउनुभयो ।

कृष्णनगरमा भएको झडपमा थप उत्तेजित तुल्याउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीले आकलन गरेको छ । प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.