प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त
काठमाडौँ, ३२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ,
नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता हुनुहुन्थ्यो भन्नुभएको छ ।
सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गर्नुभएको उदाहरणीय सेवा र दूरदर्शिताको सधै स्मरण भइरहने उल्लेख गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री बाजपेयीको निधनले भारत र विश्वले नै एक उच्च राजनीतिक व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै प्रधानमन्त्रीले शोक सन्देशमा उहाँ नेपालको शुभचिन्तक र वास्तविक मित्र हुनुहुन्थ्यो भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई सुदृढ तुल्याउन स्वर्गीय बाजपेयीले गर्नुभएको योगदानको स्मरण पनि गर्नुभएको छ ।
स्वर्गीय बाजपेयीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकूल परिवारजनमा सहनुभूति एवं समवेदना प्रकट गर्नुभएको छ ।
असिम शोकको यो घडीमा भारत सरकार र त्यहाँका जनताका साथमा नेपाल सरकार रहेको प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीलाई पठाउनु भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।
नेता देउवाद्वारा श्रद्धाञ्जलि अर्पण
त्यस्तै, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीका संस्थापक नेता एवं नेपालका अनन्य शुभचिन्तक भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको आज भएको निधनको खबरबाट आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको बताउनुभएको छ ।
सभापति देउवाले एक शोक सन्देश जारी गरी स्वर्गीय बाजपेयी नेपाल र नेपाली जनताका एक परम मित्र र नेपालप्रति सधैँ शुभेच्छा राख्ने राजनेता हुनुहुन्थ्यो भन्दै सन्देशमा आधुनिक भारतको निर्माणमा विकासको नयाँ बाटो देखाउन स्वर्गीय बाजपेयीको ठूलो योगदान रहेको उल्लेख गर्नुभएको छ । उहाँको निधनले दक्षिण एशियाकै लोकतन्त्रवादी व्यक्तित्व गुमेको अनुभव आफूलाई भएको श्री देउवाले बताउनुभएको छ ।
स्वर्गीय अटल बिहारी बाजपेयीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना पनि उहाँले गर्नुभएको छ । साथै सभापति देउवाले शोकको यस घडीमा भारत सरकार, भारतीय जनता तथा स्वर्गीय बाजपेयीका समस्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।