खानेपानी ट्याङ्कीमा विषादी हालिएको सम्बन्धमा छानबिन समिति गठन

उर्लाबारी, मोरङ, ३० साउन : खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मोरङ लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा हालिएको विषादीयुक्त पानी खाँदा त्यहाँ अध्ययनरत २८ विद्यार्थी बिरामी परेको घटनाको छानबिन गर्न आज सो समिति गठन गरिएको हो ।

समितिलाई घटनाका बारेमा छानबिन गरेर जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउने जिम्मेवारी दिइएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।

समितिले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा छानबिन शुरु गरिसकेको जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का घनश्याम खतिवडाले मोरङको जाँतेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न सरकारसँग माग पनि गर्नुभएको थियो ।

उहाँले आपत्कालीन अवस्थामा तत्काल उद्धारका काम तत्काल गर्न सुरक्षाकर्मीलाई पर्याप्त साधनस्रोत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विद्यालयको ट्याङ्कीमा हालिएको साइपर मेथिन समूहको साइप्रिन नामक विषादी मिसिएको पानी खाँदा विद्यालयमा अध्ययनरत २८ विद्यार्थी मङ्गलबार बिरामी परेका थिए । बिरामी परेका मध्ये खुश्बु मिश्र, सृष्टि निरौला, कमला लिम्बू र मनिष थापाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये अन्य २४ जना मङ्गलबारे अस्पताल उर्लाबारीमा उपचार गराएपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.