जाजरकोटमा पहिरो : चार अझै बेपत्ता, पाँचको शव निकालियो

जाजरकोट, २० साउन : सदरमुकाम खलंगामा आज बिहान गएको पहिरामा परी पाँच जनाको मृत्यु भएको छ ।

पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने चार जना अझ बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका– ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतला, उहाँका छोरी नौवर्षीया भावना, छवर्षीया रञ्जना र तीन वर्षीया मनिषा छन् । उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो ।

उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए । त्यस्तै घरमूली तीर्थराज बोहराकी सातवर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ । जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा त्यहाँ चार बालबालिका अझै हराइरहेका छन् । ती बालबालिकालाई घरसँगै पहिराले पुरेको अनुमान गरिएको छ । प्रहरीका अनुसार हराइरहेकामा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार तथा नलगाड–१ डाँडागाउँका आठवर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार छन् ।

पानी परिरहेकाले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ । उद्धार र उपचारमा कुनै कसुर बाँकी नराख्न उहाँले निर्देशन दिनाका साथै सुर्खेतबाट घाइतेका उपचारका लागि हेलिकप्टर जाजरकोट जान लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.