यो साता दुई अर्बको शेयर कारोवार

काठमाडौँ, ११ साउन : धितोपत्र बजारमा यस साता करीब रु दुई अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७१ लाख ९२ हजार ७६४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ७७ लाख ९४ हजार ९३४ मूल्य बराबरको शेयर कारोवार भएको छ ।

गत बिहीबार कारोवार मापक नेप्से परिसूचक एक हजार २७२.४९ बिन्दुमा पुगी बन्द भएको बजार यस साताको अन्तिम दिन अर्थात् यही बिहीबार साउन ९ गते एक हजार २६९.९२ मा पुगी बन्द भयो । यस आधारमा हेर्दा साताभर नेप्से २.५७ बिन्दुले घटेको छ ।

साताको पहिलो दिन नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुग्यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५३ ले घटेर २७३.३० मा पुग्यो । कूल १६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता शेयर रु २९ करोड ८१ लाख ५७ हजार ११६ मूल्यमा खरीद बिक्री भए ।

सोमबार शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लाग्यो । सो दिन नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुग्यो । नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक करीब छ अङ्कले उकालो लाग्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुग्यो । परिसूचक बढे पनि आज कारोवार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोवार रकम वृद्धि भएको छ । कूल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता शेयर रु ३६ करोड ८९ लाख ८० हजार ८६० मूल्यमा खरीद बिक्री भए ।

बुधबार कारोवार मापक नेप्से परिसूचक उकालो लाग्यो । सो दिन परिसूचक ६.९० अङ्कले बढेर एक हजार २८४.०७ मा पुग्यो । परिसूचक बढे पनि कारोवार रकममा उत्साह देखिएन । कूल १७० कम्पनीका १३ लाख ४६ हजार ३३० कित्ता शेयर रु ४४ करोड ३४ लाख ८१ हजार ३९१ मा खरीद बिक्री भए ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.१३, मिथिला लघुवित्त वित्तीय संस्था ८.५०, दिव्यश्वरी हाइड्रोपावर ७.८१, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.६९ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.६८ प्रतिशतले कमाए ।

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता बिहीबार निराश भए । शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६÷०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

सो दिन नेप्से परिसूचक १४.१५ अङ्कले घटेर एक हजार २६९.९२ मा पुगेको छ । प्रतिशतका आधारमा आज परिसूचक १.१० प्रतिशतले घटेको हो । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक २.६६ अङ्कले घटेर २७३.४७ मा पुगेको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकममा भने सुधार देखियो । कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर रु ५५ करोड पाँच लाख ३२ हजार १४६ मूल्यमा खरीद बिक्री भए ।

लगानीकर्ता असन्तुष्ट

पुँजी बजारमा प्रविधिको पहुँच बढ्न लागेको बेला सिडिएस एण्ड क्लीयरीङ लिमिटेड (सिडीएससी) ले पुँजीगत लाभ कर गणना विधि शुरु गरेपछि मोफसलमा लगानीकर्ता असन्तुष्ट भएका छन् ।

सो विधि र प्रक्रिया अवैज्ञानिक, झन्झटिलो र अव्यहारिक भएकाले बजारमा यसको नकारात्मक प्रभाव परेको लगानीकर्ताको गुनासो छ । सिडीएससीले साउन १ गतेदेखि लागू गरेको विधिलाई सच्चाएर वैज्ञानिक र यथार्थपरक गणना विधि लागू गर्न शेयर बजारका लगानीकर्ताले माग गरेका थिए । त्यसपछि पुँजीगत लाभकर गणना विवाद केही समयका लागि अन्त्य भएको छ र कम्पनीको मूल्यको औसतलाई आधार बनाएर आधारभूत मूल्य निर्धारण गर्ने र सोही आधारमा पुँजीगत लाभकर गणना गर्ने व्यवस्थाका लागि माथिल्लो निकायमा सिफारिस गर्ने सहमतिसमेत भएको छ ।

सफल नेपाल इन्भेष्ट कमपनीका महासचिव माधव पाण्डेले सिडीएससीले साउन १ गतेदेखि शुरु गरेको पुँजीगत लाभकर गणना विधिले बजारमा नकारात्मक असर परेको उल्लेख गर्दै अव्यहारिक र झन्झटिलो प्रणाली भएको बताउनुभयो ।

उहाँले खास गरेर वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताका लागि अझ वढी झन्झट भएको उल्लेख गर्दै हामी ल्याप्चे युगमा जान थालेको टिप्पणी गर्नुभयो । “एकतिर बजारमा अनलाइन प्रणाली अर्कोतिर ल्याप्चे यसले कस्तो सन्देश जान्छ”, पाण्डेले भन्नुभयो । उहाँले यो प्रणालीबाट धेरै लगानीकर्ता असन्तुष्ट भएको बताउनुभयो ।

लिन्च स्टक मार्केटकी सोनम पाठकले सिडीएसीको प्रणाली ठिक हुँदाहँुदै पनि लगानीकर्ताले झन्झट व्यहोर्नुपरेको बताउनुभयो । उहाँले विदेशमा बसेका लगानीकर्तालाई कारोवार गर्न असहज भएको उल्लेख गर्दै ल्याप्चे लगाउन नपर्ने भए सजिलो हुन्थ्यो भन्नुभयो ।

बुटवल र भैरहवामा ६ ब्रोकर कार्यालय रहेको यस क्षेत्रमा लगानीकर्ताले शेयर बजारमा लगानी बढाउन थालेका छन् । यहाँका ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको कारोवार हँुदै आएको छ । यस अघि प्रदेश नं ५ शेयर लगानीकर्ता फोरमले सो अवधारणको विरोध गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.