बुद्धभूमी हाइड्रोको आईपिओ बाँडफाँड, ७४ हजार ४ सय जनाले पाए १० कित्ता
लक्ष्मी खतिवडा । काठमाडौँ, २२ असोज : बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शेयर शुक्रबार बाँडफाँड गरेको हो ।
आईपिओमा कुल २० लाख ३० हजार ९ सय ५५ जनाको आवेदन परेकोमा १६ हजार ३३ जनाको आवेदन रद्द भएको र कुल २० लाख १४ हजार ९ सय २२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । योग्य आवेदकमध्येबाट गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो । गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन भने आवेदन दिएका मध्ये १९ लाख ५६ हजार ५ सय ५५ जनाको हात खाली भएको छ ।
कम्पनीले असोज ११ गते देखि १४ गतेसम्म सर्वसाधरणका लागि साधारण सेयर बिक्रि खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको थियो । ८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
कम्पनीले यस अघि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भाद्र ३१ गते गोलाप्रथाबाटै योग्य आवेदक ४९,३१० मध्यबाट न्युनतम १० कित्ताका दरले बाँडफाँड गर्दा ४०,००० जनलाई १० कित्ताका दरले ४ लाख कित्ता वराबरको रु.४ करोडको आईपीओ बाँडफाँड गरेको थियो ।
कम्पनीका निर्देशक प्रमोद खड्काले जानकारी दिनुभएअनुसार कम्पनीले हाल ५ मेघावाट क्षमताको तल्लो ताँदीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । खड्काका अनुसार आयोजनाको विद्युतगृह स्थल नुवाकोट जिल्लाको सदरमुकाम बिदुरबाट २६ किलोमिटरको पुर्वमा तथा खरानीटार बजारबाट ५ किलोमिटरको दुरीमा अवस्थित रहेको छ भने आयोजनाको मुख्य संरचनामा हेडवक्स दुप्चेश्रर गाउँपालिका को वडा नं ५ र ६ मा तथा आयोजनाको पावरहाउस पन्चकन्या गाउँपालिका वडा नं ४ नौटारीमा रहेको छ ।
यसरी हेर्न सकिन्छ नतिजा
कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ । जस अनुसार बुद्धभूमि नेपाल हाइड्रोको वेबसाइट https://buddhabhumihydro.com, बिकी प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।