दशैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती

काठमाडौँको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैं घरमा शुक्रबार फूलपाती भित्रयाउँदै । हनुमानढोका दरबारको दशैघंरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्रयाउने परम्परा रहेको छ । तस्बिर: रोशन सापकोटा

काठमाडौँ, ७ कात्तिक : आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दशैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

काठमाडौँको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैं घरमा फूलपाती भित्रयाउँदै । हनुमानढोका दरबारको दशैघंरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्रयाउने परम्परा रहेको छ । तस्बिर: रोशन सापकोटा

नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्”, उहाँले भन्नुभयो ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नवदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद् प्रा डा गौतमले जानकारी दिनुभयो ।

हनुमानढोकामा भित्र्याइयो फूलपाती 

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड. जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

काठमाडौँको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैं घरमा फूलपाती भित्रयाउँदै । हनुमानढोका दरबारको दशैघंरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्रयाउने परम्परा रहेको छ । तस्बिर: रोशन सापकोटा

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र गरेर पूरा गरिएको छ । यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह र मङ्गल धुन गाउने मङ्गलिनी समूहको सहभागिता रहेको उहाँले बताउनुभयो ।

हनुमानढोका दरबार नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दशैँघरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ । यस वर्ष भने कोरोनाका कारण औपचारिक कार्यक्रम नगरी परम्परागत रुपमा मात्र फूलपाती भित्र्याइएको छ ।

काठमाडौँको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैं घरमा फूलपाती भित्रयाउँदै । हनुमानढोका दरबारको दशैघंरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्रयाउने परम्परा रहेको छ । तस्बिर: रोशन सापकोटा

आश्विन शुक्ल प्रतिपदामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने हिन्दूको महान् चाड दशैँको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गरेकामा यस वर्ष त्यति छैन । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुन्छ ।

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे, जाँते र रोटे पिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण शहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन । बजारमा आज पनि किनमेल गर्नेको भीड देखिन्छ । विशेषगरी खाद्य सामग्रीका पसलमा मानिसको भीड छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.