मच्छिन्द्रनाथको रथ तान्ने कुरा टुङ्गो लागेन

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ पुल्चोकमा दर्शनका लागि भक्तजनको भीड । तस्वीरः चन्द्रकला क्षेत्री

ललितपुर, १८ साउन : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ तानेर पुल्चोकबाट गाःबहाल लग्ने कुरा टुङ्गोे लागेको छैन । मुलुकमा दिनानुदिन कोरोना महामारी बढेसँगै उक्त रथ तान्ने कुराको यकिन जानकारी आउन नसकेको हो ।

विगतका वर्षमा मच्छिन्द्रनाथलाई रथारोहण गराएको चार दिनमा पुल्चोकबाट गाःबहालसम्म रथ तानेर लगिन्थ्यो । यस वर्ष कोरोना त्रासका साथै मानिसमा यसको लक्ष्य देखिन थालेकाले अब कुन दिन तानिन्छ भन्नेबारे कुनै जानकारी भइनसकेको गुठी संस्थान शाखा कार्यालयका प्रमुख राजन भुजुले बताउनुभयो । “हामीले यही साउन १० गते मच्छिन्द्रनाथलाई रथमा बिराजमान गरायौँ”, उहाँले भन्नुभयो, “उहाँलाई रथमा राखेको चार दिनमा पुल्चोकबाट गाःबहाल तानेर लानुपर्ने चलन भएता पनि कोभिड–१९ फैलिने डरले आजसम्म तानेका छैनौँ ।”

अब यसै दिन मच्छिन्द्रनाथको रथ तानीन्छ भनेर निश्चित भइनसकेको भुजुले जानकारी गराउनुभयो । लोकेश्वरको रथ पुल्चोकबाट तानेर पहिलो पटक गाःबहाल, गाःबहालबाट तानेर मङ्गल बजार, मङ्गल बजारबाट तानेर सुन्धारा, सुन्धाराबाट तानेर लगनखेल, लगनखेलबाट रथ तानेर जावलाखेल लाने चलन रहेको थियो । यस वर्ष एकै दिनमा रथ तानेर जावलाखेल पु¥याउने कुरा पनि अघि बढिरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

वृष्टिदेवको रथ तान्ने कुरामा सरकारले निर्णय दिएपछि मात्र काम अघि बढाइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो । लिच्छवी राजा वरदेवले विसं ८०० मा पुल्चोकमा रथ बनाउन शुरु गराएका थिए । किंवदन्तीअनुसार नेपालमा एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि विसं ५४४ देखि ५५६ सम्म १२ वर्ष उनले यसैको झोकमा नवनागलाई आशन बनाए बस्दा अनिकाल र खडेरी भयो । यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आशनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.