साङ्केतिक रुपमा मनाइँदै घोडेजात्रा, गुरुमापाको आत्मा कुल्चिँदै

घोडेजात्राको अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडीखेलमा घोडचडी कलाहरु प्रर्दशन गर्दै । तस्बिर: प्रदीपराज वन्त

काठमाडौँ, ११ चैत : प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित मानिसबीच साङ्केतिक रुपमा मनाइँदैछ । भाइरसको सङ्क्रमण मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो । जनविश्वासानुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा हुने विश्वास राजधानीवासीमा छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सेनाले विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा बोलाएको छैन । विगत वर्षमा भन्दा कम प्रदर्शन गरी मनाउने तयारी गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले राससलाई जानकारी दिनुभयो । “विगत वर्षमा २४ वटासम्म खेल प्रदर्शन गरिन्थ्यो, यस वर्ष घटाएर १५ वटा गरिँदैछ, सेनाभित्र पनि सबैलाई टुँडिखेलमा आमन्त्रण गरिएको छैन, स्याटेलाइटबाट ब्यारेकमा देखाउने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो ।

घोडेजात्राको अवसरमा सैनिक मञ्च टुडिखेलमा नेपाली सेनाका जवानवाट घोडचढी कला प्रस्तुत गर्दै । तस्बिर: प्रदीपराज वन्त
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.