भाइटीका सम्पन्न, दिदीबहिनीको चाहना–‘दाजुभाइको सुख, शान्ति र प्रगति’
काठमाडौँ, १२ कात्तिक : कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज मध्यान्ह ११ः५५ बजेको साइतमा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरि मनाइयो ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाईयो ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
राष्ट्रपतिबाट भाइटीका
राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाउनुभएको छ ।
चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाउनुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । दुबै भाइले यथाशक्य दक्षिणा प्रदान गरेर उहाँसँग आशीर्वाद लिनुभयो ।
त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गर्नुभएको थियो ।
उपराष्ट्रपतिबाट टीका ग्रहण
उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका ग्रहण गर्नुभएको छ ।
भाइटीकाका अवसरमा उहाँले रोल्पास्थित आफ्नै घरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गर्नुभएको हो ।
टीका लगाइदिएपछि उहाँहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । उपराष्ट्रपनि पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गर्नुभयो ।
उपराष्ट्रपति पुनसँगै उहाँका भाइद्वय भीमप्रकाश पुन र दीपक पुनसमेतले दिदीबहिनीको हातबाट टीका लगाउनुभयो ।

प्रधानमन्त्री ओलीको भाइटीका
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाउनुभएको हो ।
टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथै उहाँहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो ।
प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गर्नुभयो ।
दलका नेताको भाइटीका
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिहारको शुभसाइतमा आफ्ना दिदी बहिनीहरुबाट भाइटीका ग्रहण गर्नुभएको छ ।
खुमलटारस्थित निवासमा अध्यक्ष दाहालले बहिनीहरु कमला, अप्सरा, सरस्वती, विष्णु र मिठुको हातबाट टीका लगाउनुभएको हो । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नी दिदी कालिका भण्डारी तथा र बहिनीद्वय इन्दिरा न्यौपाने र वसुधा पोखरेलको हातबाट भाइटीका लगाउनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भने यसपटक भाइटीका लगाउनु भएन । जुठो परेका कारण भाइटीका लगाउने कार्यक्रम नरहेको सभापति देउवाको स्वकीय सचिवालयले जनाएको छ ।
यस्तै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने जुठो परेका कारण भाइटीका लगाउनु भएन ।
काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनमा पुगेर चार दिदीबहिनीको हातबाट टीका लगाउनुभएको उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।
दिदीबहिनी नहुनेले रानीपोखरीमा भाइटीका लगाए
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले काठमाडौँको रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन् ।
रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आजकै दिन खुलाइने प्रचलन भए पनि २०७२ सालको भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिरको पश्चिम ढोकाबाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाएको थियो । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले आजको दिन रानीपोखरी पुगेर भाइटीका लगाउने प्रचलनअनुसार बिहान ७ बजेदेखि शुरु गरिएको भाइटीका बेलुका साढे ७ बजेसम्म लगाउन मिल्ने व्यवस्था गरिएको थियो ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाएका छन् ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम सेलरोटी लगायतका खानेकुरा दिने परम्परा छ । त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम सामाजिक परम्परा रहिआएको छ ।
दिदीबहिनीको चाहना–‘दाजुभाइको सुख, शान्ति र प्रगति’
“दाजुभाइको सँधै सुख, शान्ति र प्रगति भएको देख्न चाहान्छु । यसपालिको तिहारको भाइटीकामा पनि यही कामना गरेँ । दाजभाइको खुशी हाम्रो पनि खुशी हो । उनीहरु तनावमुक्त रहुन् भन्ने चाहान्छु ।” स्याङ्जा माइती भएकी नवलपुरकी सरस्वती अर्यालको मन दाजुभाइलाई सप्तरङ्गी टीका र मखमली माला लगाइदिएपछि चङ्गा भएको छ ।
तिहार कसरी मनाउनुभयो भन्ने प्रश्नमा अर्यालको जवाफ थियो, “यमराजले दाजुभाइलाई छुन नसकोस् भनेर ढोकामा तेल ठोकियो । फूल, प्रकृति र पशुपंक्षीको पनि पूजा गरियो । खुशीका साथ तिहार मनाइयो ।”
नेपाल मावि, नवलपुरकी शिक्षक अर्यालले करिव एक हजार ४०० आफ्ना विद्यार्थीमाझ नाँचगान गरेर देउसी–भैलो खेलेर रमाइलो गरेको पनि सुनाउनुभयो । सङ्कलित रकम गरिब र विपन्न समुदायका विद्यार्थीको पाठ्यसामग्री जुटाउन खर्च गर्ने उहाँको योजना छ । नयाँ पुस्ता र विद्यार्थीले चाड, पर्व र संस्कृतिलाई नर्बिसिउन् र आपसी सद्भावका साथ मनाइरहुन् भनेर उक्त विद्यालयले देउसी–भैलो खेलाएको थियो ।
प्रत्येक कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारलाई हरेक क्षेत्र र समुदायका मानिसले दिदीबहिनी र दाजुभाइका साथै पारिवारिक मिलन एवं सद्भावका रुपमा मनाउने गरेका छन् ।
अरुले झैँ सप्तरीको तिलाठी घर भई हाल काठमाडौँ बस्ने करुणा झाले पनि दुई भाइलाई टीका लगाएर तिहार मनाउनुभयो । राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाकी श्रीमती झाको अनुभवमा तराईको तुलनामा काठमाडौँमा मनाइने तिहारमा खासै भिन्नता देखिएन ।

कैलाली घर भई हाल काठमाडौँ निवासी चन्द्र साउद विगतका तुलनामा यस वर्ष राजनीतिक स्थिरता र शान्ति कायम भएका कारण दसैँ र तिहारमा सन्तोष मिलेको प्रतिक्रिया दिनुभयो । तालीम तथा रोजगार व्यावसायी महासङ्का अध्यक्ष साउदको बुझाइमा सामाजिक सद्भावमा प्रगति भएको र पट्का पट्काउने र अरुलाई हानी हुने गरी चाँड रक्सी खाएर सडकमा हिँड्ने प्रवृत्तिमा पनि सुधार आएकाले तिहार सुखद् भएको छ ।
किराँत धर्मका जानकार डा चन्द्रकुमार शेर्मा हिन्दू र किराँतीहरुको केही मिल्ने चाडपर्वमध्ये तिहार पनि परेकाले आफूले हिन्दू परम्पराकै शैलीमा भाइटीका मनाउँदै आएको बताउनुहुन्छ । किराँतहरुको चाडपर्वको मान्यताको आधारमा बेग्लै संस्कारसहित तिहार र चाडहरु कसरी मनाउने भन्नेबारेमा अध्ययन गरिरहेका उहाँ ‘बलिहाङ तङ्नाम तियाहा’ ग्रन्थ लेख्दै हुनुहुन्छ । दसैँमा जस्तो देवीदेवताका नाममा बली नदिइनुलाई सकारात्मकरुपमा लिने डा शेर्मा भन्नुहुन्छ, “हत्या, हिंसा र मारकाट नभई दियो, कलश र फूलमालाको प्रयोग हुनु तिहारको सुन्दर पक्ष हो । वामन राजाले राज्य जितेर पछि दानवीर भएर बलिहाङलाई राज्य फिर्ता गरेको इतिहासका सन्दर्भमा तिहारमा राँगा, खसी र बोकाको बली दिने प्रचलन नभएको देखिन्छ ।”
धार्मिक मान्यताअनुसार यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । तिहारकै अन्तिम दिन नेपाली समुदायको नेपाल संवत् पनि मनाइँदै आइएको छ ।
