‘मौलिक संस्कृतिको संरक्षणमा जोड’ : देउवा

गौरा पर्वको अवसरमा काठमाडौँमा टुँडिखेलमा आयोजित कार्यक्रममा देउडा नृत्य गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका नेता भिम रावल लगायत । तस्बिर: नवीन पौडेल

काठमाडौँ, १८ भदौ : कर्णाली र प्रदेश नं ७ मा विशेष रुपमा मनाइने गौरा पर्व राजधानीमा रहेका प्रदेशवासीले टुँडिखेलमा जम्मा भई देउडा खेलेर मनाएका छन् । प्रशंसा संरक्षण समूहले आयोजना गरेको गौरा पर्व विशेष कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम संस्कृतिमा धनी रहेको बताउनुभयो ।

‘‘गौराजस्ता मौलिक नेपाली संस्कृतिको संरक्षण हुनुपर्छ, यसका लागि युवा पुस्ताको भूमिका महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो । पश्चिम सेती माथिल्लो तामाकोशीको मोडलमा स्थानीयवासीको शेयरले निर्माण गरिनुपर्ने सभापति देउवाको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले विचार फरक भए पनि देशका लागि सबै एकजुट भएर संस्कृति संरक्षणमा जुट्नुपर्ने बताउनुभयो । अन्यायविरुद्ध एक हुन पनि उहाँले आह्वान गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्री एवं सांसद भीम रावलले पार्वतीको पूजा गरी मनाइने गौरा पर्व मनाउँदा निर्मला पन्तका हत्यारालाई कारवाही हुनुपर्ने बताउनुभयो । सांसद लेखराज भट्टले सुदूरपश्चिमबाटै नेपाली सभ्यताको विकास भएको स्मरण गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिम क्षेत्रका भाषा एवं भाषिकाको संरक्षण नगरिए संस्कृति नबच्ने भएकाले सरोकार भएका निकायको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पूर्वमन्त्री नारायणप्रकाश साउदले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रकरणमा सरकारले छानबिन नगरेको आरोप लगाउनुभयो । घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही हुनुपर्ने उहाँको माग थियो ।

कार्यक्रममा सांसदद्वय दामोदर भण्डारी र कमला ओली, पूर्वमन्त्री रमेश लेखक, समूहका अध्यक्ष अम्बादत्त भट्ट, महासचिव हरिप्रसाद अवस्थी, कार्यक्रम संयोजक हरिमोहन भण्डारी, संस्कृतिविद् यज्ञराज उपाध्याय, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका वरिष्ठ प्रशिक्षक रामसिंह ऐरलगायतले सुदूरपश्चिमको मौलिक पर्व गौराको प्रभाव देशभर बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय डा रणबहादुर रावल र विजया केसी श्रेष्ठ, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका सहप्राध्यापक डा हेमराज पन्तलगायतले समाजमा पु¥याउनुभएको योगदानको कदर गर्दै नेता देउवाले सम्मान गर्नुभएको थियो । सो अवसरमा उपस्थित नेतागणले आपसमा हात समाएर देउडा गाउँदै नाच प्रस्तुत गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.