सुदूरपश्चिम र मध्यपश्चिमवासीले अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदै
पूर्णप्रसाद मिश्र । काठमाडौँ, ६ भदौ : उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमीअर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ ।
“यस वर्ष अगस्ति ताराको उदय भदौ १९ गते बिहीबार बिहान १०ः१८ बजे हुने भएकाले कृष्ण अष्टमीकै दिन गौरा पर्व मनाउनुपर्ने शास्त्रीय वचनअनुसार समितिका विज्ञ सदस्यहरुको बैठकले भदौ ६ गतेको निर्णय गरेको हो”, उहाँले भन्नुभयो । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महीना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महीनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रि लगायत ग्रन्थमा उल्लेख गरिएको छ ।
गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोवास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ ।
सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महीनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिनुभयो ।
गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताउनुभयो ।
देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । “यो पर्वका लागि भाद्र कृष्ण पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ”, उहाँले भन्नुभयो ।
यसरी दुई तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सूतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागलअर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन् ।
दूर्वाष्टमी
दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दूर्वाष्टमी पनि भनिन्छ । दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर सन्तान फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ ।
सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दूर्वाष्टमी पर्व मनाइन्छ । अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुवोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि गौतमले बताउनुभयो । अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुवोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्मग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ ।
यो दिनमा सूदुरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासी मनोरञ्जन गर्दछन् ।
गौरापर्वले राष्ट्रिय एकतामा सुदृढ पु¥याएको : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको बताउनुभएको छ । गौरापर्वको शुभकामना सन्देश दिँदै उहाँले हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको उल्लेख गर्दै यस्ता लोक परम्परा एवं सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको बताउनुभयो ।
उहाँले सन्देशमा भन्नुभएको छ, “विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमङ्ग जागृत गर्न सहयोग पु¥याउने विश्वास लिएको छु ।”
गौरापर्वले आपसी सद्भावलाई अझ मजबुत बनाउने : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्वको रुपमा सुपरिचित रहेको बताउनुभएको छ । गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा विशेष हर्षोल्लासका साथ मनाइने यस पर्वले आपसी सद्भावलाई अझ मजबुत बनाउने बताउनुभयो ।
उहाँले सन्देशमा धार्मिक र सांस्कृतिक महत्वका साथ गौरा पर्व मनाउने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुस्वाथ्य, दीर्घायु, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, वेषभूषा, रीतिरिवाज र संस्कारले विविधताबीच एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता हाम्रो देशका अमूल्यहरु निधि रहेको बताउनुभयो ।
“हाम्रो देशको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई हामीले सधैँ एकताबद्ध भएर परास्त गर्दै आएका छौँ”, उहाँको सन्देशमा भनिएको छ, “हिमाल, पहाड र तराईका नेपालीहरुबीचको आपसी एकता झनझन प्रगाढ हुँदै गएको छ ।”
हाम्रा चाड पर्व जीवन्त अन्तर–सांस्कृतिक अन्र्तघुलनका अनुपम उदाहरण रहेको उल्लेख गर्दै उहाँले सद्भाव र एकताको प्रवद्र्धन गर्ने हाम्रा अनेकौँ पर्व र सांस्कृतिक अवसरमध्येको गौरा पर्वले समस्त नेपाली दिदी बहिनी दाजुभाइबीचको आपसी सद्भावलाई अझ मजबुत बनाउने विश्वास गरेका बताउनुभयो ।
गौरा भित्र्याइयो
सुदूरपश्चिम प्रदेशका गौरा घर र मन्दिरमा आज धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ । व्रत बसेका महिलाको समूहले धान, साउँ, कुस, अपामार्गलगायत बोटबिरुवा प्रयोग गरी गौरादेवीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याएका हुन् ।
घर नजिकको खेतमा गई सामूहिक रुपमा ‘फाग’ गीत गाउँदै यो प्रतिमा तयार पार्ने गरिन्छ । गौरा भित्र्याउने आजको दिनलाई स्थानीय भाषामा ‘ठूली गौरा’ भित्र्याउने दिनको रुपमा लिइन्छ । प्रदेश सरकारले भदौ ६ गते प्रदेशमा गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । गौरा भित्र्याइसकेपछि व्रतालु महिलाले सामूहिक रुपमा गौरी भगवती र महेश्वर(शिव) भगवान्को पूजा अर्चना गर्ने गर्दछन् ।
पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँच थरीका गोडागुडी)को विशेष महत्व छ । ‘बिरुडा’ लाई गौरा र महेश्वरको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादको रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन छ । बिरुडा खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ । भाद्र पञ्चमी तिथिका दिन धार्मिक अनुष्ठानका साथ प्रत्येक घरमा तामाको भाँडामा बिरुडा भिजाएर राखिन्छ । बिरुडा भिजाएको दिनदेखि नै औपचारिक रुपमा गौरा पर्व शुरु भएको मानिन्छ ।
पूजाको काम सकिएपछि हरेक दिन महिला र पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी, देउडा खेलेर रमाइलो गरिन्छ । पौराणिक कालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिको रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकोले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंवदन्ती छ । गौरा सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको भनाइ छ । यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने तथा इष्टकूल देवता खुशी हुने विश्वास गरिन्छ । अनुकूल तिथिका दिन गौराको प्रतिमा विसर्जन गरिन्छ ।
