भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक देशभर मनाउँदै
काठमाडौँ, ६ भदौ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।
यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ ।
सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँधेको : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँधेको बताउनुभएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले श्रीकृष्णजन्माष्टमीजस्ता ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्नुका साथै सामाजिक तथा धार्मिक सहिष्णुता एवं सद्भाव अभिवृद्धि गर्न ठूलो मद्दत पु¥याएको बताउनुभएको छ ।
“हाम्रा सांस्कृतिक सम्पदा, प्रचलन र मान्यता राष्ट्रिय जीवनका अमूल्य निधि हुन्”, सन्देशमा उहाँले भन्नुभएको छ, “मुलुकको सभ्यता र सम्पन्नताको सूचकसमेत मानिने यस्ता मौलिक परम्परा र संस्कृतिको प्रवद्र्धधन गर्नु हामी सबैको साझा दायित्व हो ।” उहाँले श्रीकृष्ण जन्माष्टमी पर्वले हामीबीच सदाचार, सत्कर्म, प्रेम र करुणा जागृत गर्न सकोस् भनी कामनासमेत व्यक्त गर्नुभएको छ ।
दर्शनार्थीलाई सुरक्षा
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा पाटन दरबार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । लाखौँ हिन्दूधर्मावलम्बीले दर्शन गर्ने कृष्ण मन्दिरमा भक्तजनको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ ।
पाटन दरबार सङ्ग्रहालयमा भक्तजनको घुइचो लाग्ने भएकाले सुरक्षाकर्मी परिचालन गरिने महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । कृष्णको दर्शन गर्न भक्तजन आजैदेखि लाम लागिसकेका छन् । राति १ बजे भगवान् कृष्णको नित्य पूजा समाप्त भएपछि दर्शनका लागि भक्तजनको घुइचो लाग्ने गर्छ ।
भक्तजन बढ्ने भएपछि रातिदेखि नै लाम बस्ने गरेको स्थानीय काली श्रेष्ठले बताउनुभयो । पाटनस्थित मङ्गल टोल सुधार सङ्घले व्यवस्थापनका लागि करीब ३०० सदस्य तथा अन्य सङ्घसंस्थाले समेत झण्डै ३०० स्वयमसेवक खटाउने निर्णय गरेको सङ्घका सचिव रविदर्शन धारीले बताउनुभयो । मन्दिर पुनःनिर्माण गरिएपछि दुई वर्षदेखि भक्तजनलाई मन्दिरमै गएर दर्शन गर्न दिन थालिएको उहाँले बताउनुभयो ।
