माघे संक्रान्तिको लालबन्दी बजार

लालबन्दी, २८ पुस : नेपालमा सार्वजनिक विदा दिइने माघ महिनाको पहिलो दिन माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो । ज्योतिषशास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेतापनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर समुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ ।

माघ सङ्क्रान्तिमध्ये जाडोको रमाइलो पर्व हो । यस दिन तेल लगाउने प्रचलन पनि छ अर्थात् यस पर्वका प्रत्येक क्रिया जाडो विरुद्ध गर्मी उत्पन्न गराउने खालका हुन्छन् । यो दिन मकर राशिमा सूर्यको गमन हुने सङ्क्रान्ति हो यस दिनदेखि सूर्य उत्तरायणमा लाग्नुहुन्छ । उत्तरायण छ महिना देवताहरूको दिन हो दक्षिणायण छ महिना देवताहरूको रात   हो । यो सङ्क्रान्तिदेखि देवताको उज्यालो दिन हुनाले यस दिनदेखि ६ महिना सम्म विवाह व्रतबन्ध आदि ठूला ठूला कार्यहरू गरिन्छन् । जस्तो कोटी होम, लक्ष होम, काम्य वृषोत्सर्ग । यो सङ्क्रान्तिलाई अयन सङ्क्रान्ति पनि भनिन्छ । घ्यू चाकु खाने दिन हो पौषमा पकाएको पाक मकर सङ्क्रान्तिमा खाने चलन पनि छ त्यो हो उसिनेको पोलेको तरुल । यो दिन तेल लगायो भने १ वर्ष सम्म शरीर निरोगी हुन्छ ।

सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी बजार हरियो तरकारीको लागि मधेस प्रदेशमै प्रचलित छ। पूर्वपश्चिम राजमार्गमा एकछिन गाडी रोकेर धेरैले ताजा र हरियो तरकारी किनेर लैजान्छन्। तरकारीको कारोबार गर्नेहरुको लागि त लालबन्दी झन् हब नै बनेको छ। लालबन्दीको तरकारी बजारमा दैनिक लाखौँ रुपैयाँको थोक तरकारी बिक्री हुने गरेको छ।

लालबन्दीबाट हरियो खुर्सानी, भन्टा, करेला, सिमी, घिरौला, काँक्रो, बन्दकोभी, बोडी, राजमाजस्ता तरकारीको निकासी हुँदै आएको छ। लालबन्दी बजारबाट थोक तरकारी सर्लाहीकै विभिन्न हाट बजारसम्म पुग्नुका साथै काठमाडौँ, वीरगंज, पोखरा, नारायणगढ, जनकपुर, सिन्धुली, बुटवललगायत अन्य सहर तथा बजारसम्म पुग्ने गरेको छ।

लालबन्दीलाई मधेस प्रदेशमा गोलभेंडा उत्पादन गर्ने सहरकोरुपमा पनि चिनिन्छ। गोलभेंडाको सहरबाट गत महिना दोस्रो सबैभन्दा बढी हाइब्रिड बोडी बाहिरको बजारमा पठाइएको छ। लालबन्दीले गत महिना हरिया हाइब्रिड बोडीबाट १ करोड ९४ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ।

सर्लाहीको लालबन्दी बजारबाट थोकमा तरकारी किनेर खुद्रा बिक्री गर्ने सयौँ व्यापारीहरु रहेका छन्। लालबन्दीमा बजारको मागको आधारमा साना तरकारी बेपारीहरुले किनेर साना सबारी साधन तथा मोटरसाइकल र साइकलमा पनि सर्लाही, रौतहट तथा महोत्तरीका सैकडौँ हाटबजारसम्म पुर्‍याई हरियो तरकारी बेचेर आजीविका गरिरहेका छन्।

लालबन्दीका सयौँ किसानको आम्दानीको मुख्य स्रोत नै तरकारी खेती बनेको छ। नजिकका केही गाउँका तरकारी उत्पादकहरुले पनि थोकमा हरियो तरकारी बेच्न लालबन्दी थोक बजारको सहारा लिएका छन्। लालबन्दी थोक बजारले गर्दा तरकारीको उत्पादन, बिक्री तथा स्वरोजगारमा टेवा पुगेको स्थानीयको भनाइ छ। उत्पादन भएको हरियो ताजा तरकारी बेच्ने बजार भएपछि जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन धेरै सहयोग पुगेको एक तरकारी व्यावसायीको भनाइ छ। 


तस्वीर: राजेश पाठक

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.