प्रधानमन्त्री बन्ने मुड पनि छैन, लोभ पनि छैन : देउवा
काठमाडौं, २२ फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।
आफ्नै निवास बूढानीलकण्ठमा शनिबार विहान काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको पुस्तक “महाकाण्ड” विमोचन कार्यक्रममा उनले आफू प्रधानमन्त्रीको रेसमा नरहेको स्पष्ट पारेका हुन् ।
‘मलाई प्रधानमन्त्री बन्ने मुड पनि छैन, लोभ पनि छैन। यसमा लाग्नु पनि छैन ।, देउवाले भने, अर्काको झगडामा कहाँ फस्ने अहिले? यो सब कुराको अर्थ छैन ।’ प्रतिपक्षीलाई पाँच वर्ष सरकारमा जाने म्यान्डेट नभएको भन्नेहरूप्रति भने उनले असन्तुष्टि व्यक्त गरे ।
‘म प्रधानमन्त्रीको रेसमै छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । कतिपय साथीहरुले प्रतिपक्षीलाई पाँच वर्ष सरकारमा जाने म्याण्डेट छैन पनि भनिरहेका छन् । त्यसो पनि होइन’,उनले भने, ‘विपक्षी दलको नेता जहिले पनि वेटिङ प्राइमिनिस्टर हो, तर म यसमा पनि छैन ।’
यस्तै उनले अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्न नुहनेमा आफू सुरुदेखि नै स्पष्ट रहेको पनि बताए । उनले भने, ‘संसदीय व्यवस्थापनमा अदालतलाई याे गर उ गर भनेर सडकमा आन्दोलन गरिए व्यवस्था नै नरहने खतरा हुन्छ । त्यसैले मैले अदालतलाई याे गर त्याे भन्नुहुँदैन भनेकाे हुँ । यसमा म प्रतिबद्ध छु ।”
प्रचण्ड–माधव समूहको नेकपाको प्रस्तावमा देउवा प्रधानमन्त्री हुने चर्चा चलिरहेका बेला देउवाको यस्तो धारणा आएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव लैजाने र नयाँ सत्ता समीकरणमा सहभागी हुने विषयमा छलफल तिब्र बनाए पनि काँग्रेस अझै अनिर्णित छ ।
