पूर्वमन्त्री थापासहित राप्रपाका केन्द्रीय नेता काँग्रेस प्रवेश

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापालाई पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टी प्रवेशपछि बधाई तथा स्वागत गर्दै । तस्वीर: रोशन सापकोटा

काठमाडौँ, १३ साउन : केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गर्नुभएका पूर्व मन्त्री सुनिलबहादुर थापासहित एक दर्जनभन्दा बढी केन्द्रीय नेता नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापा सहितका नेतालाई पार्टी सदस्यता सहित स्वागत गर्नुभयो । पार्टी प्रवेशसँगै राप्रपाका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिललाई पार्टी सहमहामन्त्री मनोनयन गरिएको सभापति देउवाले कार्यक्रममा जानकारी गराउनुभयो ।

“जनताका आधारभूत स्वतन्त्रतामाथि प्रहार भइरहेका बेला सबै लोकतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने अवस्था छ, प्रेस स्वतन्त्रता कुण्ठित गर्ने, नागरिकका फोन ट्यापिङ गर्ने लगायत अलोकतान्त्रिक गतिविधि नियन्त्रणका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एक गराउने अभियानमा काँग्रेस लागेको छ”,–उहाँले भन्नुभयो । नवप्रवेशी नेताहरुलाई हीन भावना त्यागी सबैको अधिकार समान हो भन्ने भावनाले लोकतन्त्र प्रवद्र्धनका लागि काम गर्न पनि सभापति देउवाले आह्वान गर्नुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी केन्द्रिय कार्यालय सानेपामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापालाई पार्टी प्रवेश गराउँदै । तस्वीर: रोशन सापकोटा

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुनिलबहादुर थापा प्रतिगामी कित्तामा जान असहमत भई काँग्रेस प्रवेश गर्नुभएको बताउनुहुँदै राजतन्त्र पुनःस्थापना गर्ने लक्ष्यले राप्रपा एकजुट भएकोप्रति आपत्ति जनाउनुभयो । “कम्युनिष्ट पार्टीले संवैधानिक रुपमा व्यवस्थित गरिएका लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् नगरेका बेला राजतन्त्र पुनःस्थापनाको मुख्य लक्ष्य लिएर राप्रपा एकजुट हुँदा फेरि देश प्रयोगशालामा परिणत हुन लागेको छ, यसलाई रोक्न लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प छैन”–उहाँले भन्नुभयो । नवप्रवेशी नेताहरुलाई आफ्नै घरमा आएको सोचेर काम गर्न आह्वान गर्नुहुँदै उहाँले कम्युनिष्ट पार्टीलाई पनि लोकतान्त्रिक समाजवादको मूलधारमा हिँडाउनुपर्ने बताउनुभयो ।

पार्टी उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रमाथि वर्तमान सरकारबाटै खतरा रहेको उल्लेख गर्नुहँदै हिन्दू राष्ट्रको मुद्दा मान्न तयार हुन सकिए पनि राजतन्त्र पुनःस्थापनामा सहमत हुन नसकिने विचार राख्नुभयो । पञ्चायती व्यवस्थामा पनि उदारवादी छवि बनाउनुभएका पूर्व प्रधानमन्त्री थापाको परिवार पुनःकाँग्रेस प्रवेश गरेपछि नेपालमा लोकतन्त्रवादी शक्ति बलियो हुने उहाँको भनाई थियो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापालाई पार्टी केन्द्रिय कार्यालय सानेपामा सदस्याता दिएर पार्टी प्रवेश गराउँदै । तस्वीर: रोशन सापकोटा

नेता थापाले पटकपटक प्रजातन्त्र स्थापना एवं पुनस्र्थापनाको नेतृत्व गरेको दल काँग्रेस प्रवेश गर्दा आफूलाई अपार हर्ष र खुसी लागेको अनुभव सुनाउनुभयो । आफ्ना पिता पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा पहिले काँग्रेसमै रहेको प्रसङ्ग उहाँले उल्लेख गर्नुभयो । “ विश्व परिवेशबाट नेपाल एक्लिन थालेको छ, यसैले लोकतन्त्रवादी शक्तिबीच वृहद् एकताको विकल्प छैन, यो विचारमा राप्रपा सहमत नभएपछि हामी काँग्रेस प्रवेश गरेका हौँ”, उहाँले भन्नुभयो । संसद्वादी दल एकजुट हुनुपर्ने आफ्नो मत राप्रपाले लत्याएकाले पनि आफू काँग्रेस प्रवेश गरेको नेता थापाको भनाई थियो । आजै काँग्रेस प्रवेश गर्नुभएका नेता वृजलाल यादवले मधेशी, जनजाति, दलित लगायत उपेक्षित वर्गका विषयमा राप्रपाले आवाज उठाउन छोडेपछि काँग्रेस प्रवेश गर्नुपरेको बताउनुभयो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टी केन्द्रिय कार्यालय सानेपामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुलाई पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर: रोशन सापकोटा

काँग्रेस प्रवेश गर्नेमा थापासँगै धनकुटा राप्रपाका सबै तहका समिति रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसैगरी बाराका नेता यादव, मोरङका नेता रामकृष्ण भट्टराई, पूर्व गृह राज्यमन्त्री विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत, झापाका दिलीप राई, नुवाकोटका राज्यलक्ष्मी श्रेष्ठ, झापाकै चतुरमान विक, सर्लाहीका रामपदारत साह, भोजपुरका डा सुरेश बस्नेत, रुपन्देहीका प्रतिमा राणा क्षत्री, भोजपुरका नारायण राउत र सिन्धुपाल्चोकका इन्द्रबहादुर राउत हुनुहुन्छ । थापासँग निकट राप्रपाका जिल्ला नेताहरु भने जिल्लास्तरमै पार्टी प्रवेश कार्यक्रम आयोजना गरी विधिवत् प्रवेश गर्ने जानकारी पनि सो अवसरमा गराइएको थियो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टी प्रवेशपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापालगायतका नेताहरु । तस्वीर: रोशन सापकोटा
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.