बिपीको समाजवादको बाटामा काँग्रेस सदैव क्रियाशील रहने छ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सम्बोधन गर्दै । तस्वीर: रोशन सापकोटा

काठमाडौँ, ६ साउन : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहने उल्लेख गर्नुभएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा उहाँले बिपीप्रति श्रद्धासुमन व्यक्त गर्दै लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा काँग्रेस अग्रसर रहने बताउनुभएको छ ।

यसैगरी काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले बिपीले नैतिकता बिनाको राजनीतिले कहीँकतै पु¥याउँदैन भन्ने गर्नुभएको स्मरण गर्दै राजनीतिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता भएको उल्लेख गर्नुुभएको छ । उहाँले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका पूरक भएको र राष्ट्र हित चाहने शक्ति एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बिपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भीरताका साथ अघि बढ्नु आजको आवश्यकता हो भन्नुभएको छ ।

बिपी राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र सङ्गीतमा समेत लगाव भएको बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । उहाँले सदैव आफूभन्दा पार्टी, पार्टीभन्दा देशलाई महत्व दिने संस्कारको विकास गर्नुभएको थियो । काँग्रेसले आज देशैभर विभिन्न कार्यक्रम गरी बिपीको ३८औँ स्मृति दिवस मनाइरहेको छ ।    

‘बिपी दूरदर्शी राजनेता’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला सानो देशका अग्लो व्यक्तित्व तथा दूरदर्शी राजनेता भएको बताउनुभएको छ । जननेता बिपीको ३८औँ पुण्यतिथिका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज जुम प्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा उहाँले बिपीको प्रजातान्त्रिक समाजवाद विचार आज झनै सान्दर्भिक भएको बताउँदै भन्नुभयो, “नेपालले आज हिंँड्ने मूल बाटो बिपीकै विचार र विश्वासको बाटो हो । उहाँको बाटो इमान्दार ढङ्गले पछ्याएर मात्रै हामी सबैले समृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ ।”

आज राष्ट्रियताका विषयमा मुलुकमा विशेष छलफल भइरहेका बेला बिपीको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावनाका साथ समाधान पहिल्याउनुपर्ने सभापति देउवाको भनाइ थियो ।

कार्यक्रममा समाजवादी चिन्तक तथा पार्टी केन्द्रीय सदस्य प्रदीप गिरीले कार्यक्रमका प्रस्तोता डा सुरेश आचार्य एवं स्वदेश र विदेशबाट जोडिनुभएका सहभागीका बिपी विचार केन्द्रित विभिन्न जिज्ञासाको उत्तर दिनुभएको थियो । बिपी मनोवैज्ञानिक कथा र उपन्यास लेखनमा बेजोड हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.