लकडाउनका बेला कर बुझाउने ताकेता गैरजिम्मेवारीपनको पराकाष्ठा : कांग्रेस
काठमाडौं, २१ जेठ : लकडाउनको अवधिभित्रै कर बुझाउ भनेर सरकारले जारी गरेको सूचनालाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गैरजिम्मेवारीपनको पराकाष्ठा भनेको छ । कांग्रेसले यस्तो निर्णय सच्याउन मागसमेत गरेको छ ।
बुधबार विज्ञप्ति निकालेर खाँणले कोरोना महामारीको विषम र असहज परिस्थितिमा सरकारले आमनागरिकमा पीडामाथि पीडा थप्ने कार्य अत्यन्त निन्दनीय भएको खाँणले उल्लेख गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउनका बेला सरकारले करको ताकेता गरी जनतामा पीडामाथि पीडा थप्ने काम गरेको बताएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका बेला कर बुझाउने सूचना जारी गर्नू गैरजिम्मेवारीपनको पराकाष्ठ भएको बताए ।
‘लकडाउनले व्यापार, व्यवसाय, यातायात क्षेत्रलगायत ठप्प छ। यस्तो विषम परिस्थितिमा पनि सरकारले लकडाउनको समयभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो,’ खाँणले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले श्रमिक वर्ग, किसान र बन्द भएका सानादेखि ठूला उद्योगधन्दालाई विशेष राहत प्याकेज दिनुपर्नेमा त्यसको विपरीत करका लागि ताकेता गर्नु सरकार जनताप्रति उदासिन रहेको ष्रष्ट भएको खाँणको भनाइ छ ।
