परराष्ट्र मन्त्री र अष्ट्रियाका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, १ असोज : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अष्ट्रियाका विदेशमन्त्री करिन केन्सलबीच आज भेटवार्ता भएको छ ।
नेपाली दूतावास भियनाका अनुसार सो अवसरमा नेपाल–अष्ट्रिया सम्बन्ध, द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै सहयोगमा थप आयामहरुको खोजी गर्ने, व्यापार, लगानी, पर्यटन, पूरातात्विक क्षेत्रको संरक्षण, पानीको व्यवस्थापन गर्दै जनस्तरको सम्बन्धलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो ।
नेपालको विकासमा अष्ट्रियाको महत्वपूर्ण सहयोग रहँदै आएको भन्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको तर्फबाट धन्यवाद दिँदै आगामी दिनमा आर्थिक विकासमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
अष्ट्रियाका विदेशमन्त्रीले आफ्नो देशले निरन्तर नेपाललाई सहयोग गर्ने बताउनुभयो । बहुपक्षीय मञ्चमार्फत साझा चासो र हितका क्षेत्रमा सहकार्य गरेर जाने विषयमा समेत सो अवसरमा छलफल भएको थियो ।
