काँग्रेसले तोक्यो थप सात केन्द्रीय विभागका प्रमुख
काठमाडौँ, १९ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार थप सात केन्द्रीय विभागका प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गर्नुभएको छ । यसअघि उहाँले शनिबार पार्टीका १३ केन्द्रीय विभागमा प्रमुख तोक्नुभएको थियो ।
सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत् व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन, मोहनबहादुर बस्नेतलाई खेलकुद्, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभागका प्रमुखमा मनोनयन गर्नुभएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
काँग्रेसको विधानमा २८ केन्द्रीय विभाग गठनको व्यवस्था भए पनि गत पुस ११ गतेको केन्द्रीय समिति बैठकले विभाग बढाउन सक्ने विधानको अधिकार प्रयोग गरी विभागको सङ्ख्या बढाएर ४७ पु¥याइएको थियो । काँग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको नियमित अवधि समाप्त हुन लागेपछि नेतृत्वले केन्द्रीय विभाग गठन गर्न थालेको छ ।
काँग्रेसको १३औँ महाधिवेशन विसं २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो । काँग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ ।
विधानको उक्त प्रावधानमा टेकेर काँग्रेसले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि यही फागुन २० गतेदेखि लागू हुने गरी विसं २०७७ फागुन १९ गतेसम्म एक वर्षका लागि थप गर्ने निर्णय गरिसकेको छ । काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
थप केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य मनोनित
नेपाली काँग्रेसले विगतमा अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेका र त्यस्तो राजनीतिक दल परित्याग गरी काँग्रेसमा प्रवेश गरेकाहरुलाई पार्टीको विधान बमोजिम केन्द्रीय कार्यसमितिको सदस्य र आमन्त्रित सदस्यमा मनोनयन गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले आज जङ्गीलाल राय (सर्लाही) र कर्णबहादुर बुढा (डोल्पा) लाई केन्द्रीय सदस्यमा तथा मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेखप्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लमजुङ), जनकराज कलौनी (डडेल्धुरा), भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा) लाई आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
यसैगरी काँग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम सभापति देउवाले पार्टीका विभिन्न अगुवा राजनीतिक कर्मीहरुलाई पार्टीको ‘ज्येष्ठ राजनीतिज्ञसभा’को सदस्यमा मनोनयन गर्नुभएको छ । उक्त सभामा पार्टीका अगुवा नेताहरु ढुण्डीराज शास्त्री सूर्यमान गुरुङ, पूर्णानन्द शर्मा, तेजमान तुम्वाहाम्फे, छविकुमार शर्मा, देवीध्वज बस्नेत, डिल्लीप्रसाद सिटौला, हरिशंकर मिश्र, राजेन्द्र खरेल, खेमराज पौडेल, बाबुराम पुरी, सूर्यप्रसाद रेग्मी, देवेन्द्रप्रसाद उपाध्याय, भरतप्रसाद उप्रेती, तोपमान गुरुङ, रामचन्द्र सिंह, कृष्णबहादुर जोशी रहनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसैगरी सभामा चन्द्रप्रसाद न्यौपाने, लाल हमाल, तारापति सुवेदी, लक्ष्मीप्रसाद ताल्चाभडेल, तीर्थराज ज्ञवाली ‘चैतु’, सूर्यदत्त जोशी, भगवती सिंह, केदार ढकाल, अन्तराम भट्ट, मदन चन्द, केशरवावु थुलुङ्ग राई, प्रमेश न्यौपाने, अजितनारायण सिंह थापा मनोनया हुनुभएको छ ।
