खुल्यो अवरुद्ध संसद्

काठमाडौँ, २८ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै बालुवाटारको ललीता निवास जग्गा प्रकरणमा गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँँग्रेसले तीनपटकसम्म अवरुद्ध गराएको संसद आज नियमितरुपमा सञ्चालन भएको छ । संवैधानिक निकायले अधिकार क्षेत्रबाहिर गई सरकारबाट प्रभावित भएर मुद्दा दायर गरेमा फेरि पनि संसद् अवरुद्ध गर्ने जनाउँदै अहिलेलाई प्रतिनिधिसभाको नियमित कार्यसूचीलाई अगाडि लैजान काँग्रेस सहमत देखिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदरुले उठेर विरोध जनाएका थिए । सभामुख सापकोटाले काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाललाई बोल्न समय दिनुभएको थियो । उहाँले अख्तियारले भेदभावका आधारमा विशेष अदालतमा मुद्दा दायर गरेको बताउनुभयो । “सरकारका मन्त्रीले भेदभावपूर्ण तरिकाले मुद्दा दायर गरिएको घटनालाई सरकारको ठूलो उपलब्धि भनेकाले पनि सरकारबाट प्रभावित भई अख्तियारले लाचार छायाँ बनेर मुद्दा दायर गरेको पुष्टि भयो, जनताको छायाँ बनेर हामीले संसद् अवरुद्ध गराएका हौँ”, उहाँले भन्नुभयो ।
संवैधानिक निकाय सन्तुलनमा रहनुपर्ने धारणा राख्दै सांसद भुसालले लोकतान्त्रिक पद्धति, संसदीय पद्धतिका लागि पार्टीका संस्थापक बिपी कोइरालाले आठवटा राजद्रोहको मुद्दा पनि देशमै आएर संवैधानिक रुपमा लडेको इतिहास स्मरण गर्दै कानूनी लडाइँ लड्ने बताउनुभयो । “संवैधानिक अङ्गले संविधानवादको विपरीत काम गर्छ भने संसद्ले त्यसको प्रतिवाद गर्नुपर्छ, बालुवाटारको जग्गाको विवरण तयार पारी पठाउनु भनी भौतिक योजना मन्त्रालयमा प्रधानमन्त्री कार्यालयको पत्र अहिले पनि छ, यसको प्रक्रिया अघि बढाउन मुख्यसचिवले उपयुक्त ठानेर प्रस्ताव तयार पारेकामा आदेश दिने र प्रस्ताव तयार पार्नेलाई मुद्दा चलाउनु नपर्ने ?” उहाँले भन्नुभयो ।
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पाइनल इन्जुरीलगायत पाँच रोग लागेकालाई राहत दिने, भूकम्पपीडितलाई रु एक लाख थप्ने निर्णय मुख्यसचिवले कहाँ पु¥याउनुभयो ? भन्दै सांसद भुसालले दुवै घटनाको तुलना हुनुपर्ने बताउनुभयो । ‘‘यस्ता गतिविधि फेरि दोहोरिए काँग्रेस चुप लागेर बस्दैन’’ उहाँले भन्नुभयो, ‘‘विगतमा ५७ दिनसम्म संसद् अवरुद्ध गराइएको स्मरण गराउँदै आफ्नो पार्टीले त्यसो गदैन ।’’
कोरोना प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न माग
प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँहरुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न सुझाव दिनुभयो ।
सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यस विषयले संसद्मा आवश्यकताअनुसार प्राथमिकता पाउन नसकेको समेत बताउनुभयो । सांसद प्रेम सुवालले कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन स्थल’का रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको बताउनुभयो । उहाँले त्यस्तो स्थल घना बस्तीभन्दा टाढा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद आशाकुमारी विकले बझाङको साइपाल गाउँपालिकामा हिमपातका कारण यातायात अवरुद्ध हुँदा भोकमरीको समस्या देखिएको भन्दै तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरी समस्या समाधान गर्न माग गर्नुभयो । सांसद एकवाल मिँयाले भारतबाट नेपालमा सामान आयात गर्दा प्रहरीबाटै अवरोध हुने गरेको गुनासो गर्दै सहज व्यवस्था गर्न माग गर्नुभयो ।
तीन प्रतिवेदन पेश
प्रतिनिधिसभाकोे बैठकमा विषयगत समितिका तीन प्रतिवेदन पेश भएका छन् ।
आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रमाण (दोस्रो संशोधन), कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बीउ बिजन (दोस्रो संशोधन) र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘लोक सेवा आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नुभएको थियो ।
सङ्घीय संसद्को सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक बैठकमा टेबुल गर्नुभएको थियो ।
उद्धार गर्न माग
प्रतिनिधिसभा आजको बैठकको शून्य समयमा सांसदहरुले मुलुकको समसायिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद विमला विकले बाँके बर्दिया क्षेत्रमा अझै बाढीपीडितका समस्या समाधान गर्न माग गर्नुभयो । सांसद भूमिप्रसाद त्रिपाठीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा देखिएको मुआब्जा समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भैरवबहादुर सिंहले बझाङको एकमात्र राजमार्ग साँघुरो र कालोपत्र पनि गुणस्तरहीन भएको भन्दै स्तरोन्नतिको माग गर्नुभयो ।
सांसद मीनबहादुर विश्वकर्माले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न माग गर्नुभयो । सांसद यशोदा गुरुङ सुवेदीले छाउपडी गोठ भत्काएर मात्र यसको समाधान नहुने भन्दै मनमस्तिष्कबाट छाउपडी प्रथा हटाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
दुर्गम क्षेत्रमा इञ्जिनीयर पठाउने व्यवस्था गर्न सांसदको माग
विकासको मेरुदण्ड मानिएका इञ्जिनीयर दुर्गम क्षेत्रमा नजाँदा पूर्वाधार विकासमा नकारात्मक प्रभाव परेकाले आवश्यक कानूनी व्यवस्था गर्न सांसदहरुले माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।
त्यसमाथिको छलफलमा भाग लिनुहुँदै सांसद गजेन्द्रबहादुर महतले इञ्जिनीयर कि पैसाले गाउँमा बस्ने कि सुविधाले बस्ने भए पनि दुबै नभएकाले बस्न नमानेको सुनाउनुभयो । इञ्जिनीयर दुर्गम क्षेत्रमा बस्न आवश्यक व्यवस्था हुनुपर्ने उहाँको भनाइ थियो ।
सांसद गोपालबहादुर बमले मुगुको ९४ किमी सडक आयोजनाका लागि एक दर्जन प्राविधिक कर्मचारीको व्यवस्था भए पनि एकजना कार्यालय सहयोगी मात्र रहेको सुनाउनुभयो । सांसद रेणुका गुरुङले ५१ वटा इञ्जिनीयरिङ क्याम्पसमा १० हजार विद्यार्थी अध्ययन गरिरहेकाले गुणस्तरीय शिक्षा दिने व्यवस्था हुनुपर्नेमा बताउनुभयो ।
सांसद प्रेम सुवालले निजी क्याम्पसमा इञ्जिनीयरिङ शिक्षा प्रवद्र्धन नगरी स्थानीय तहले चलाएका क्याम्पसलाई पनि संवद्र्धन गर्ने गरी कानूनी व्यवस्था गर्न माग गर्नुभयो । भक्तपुर नगरपालिकाले चलाएको ख्वप इञ्जिनीयरिङ क्याम्पसमा सहुलियत दरमा अध्यापन भइरहेको उहाँले सुनाउनुभयो ।
सांसदले उठाउनुभएका सवालको जवाफमा मन्त्री नेम्वाङले ठूलाठूला निर्माणमा आएको गुणस्तर ह्रासलाई माथि उठाउन परीक्षण गर्ने व्यवस्था अत्यावश्यक भएकाले परीक्षा प्रणाली शुरु गर्न लागिएको बताउनुभयो । मन्त्री नेम्वाङले ऐनलाई समयसापेक्ष बनाउन पेश गरिएका संशोधनहरुलाई समावेश गरिने बताउनुभएपछि उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।
शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तर्फबाट संविधानसभा सदस्य रहनुभएका सिद्धार्थकुमार सोमानीको निधनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव बैठकले पारित गरेको हो । स्व नेता सोमानीको ५२ वर्षको उमेरमा यही माघ २५ गते शनिबार झापास्थित निवासमै निधन भएको थियो ।
नेता सोमानी २०६४ सालमा तत्कालीन माओवादीका तर्फबाट समानुपातिक सदस्य निर्वाचित हुनुभएको थियो । स्व नेता सोमानीले गणतन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २९ गते बुधबार १ बजे बस्नेछ ।
