नेकपा अध्यक्ष दाहाल चीन र पूर्वअध्यक्ष रेग्मी कोरिया प्रस्थान

काठमाडौँ, ३० भदौ : चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ चीनतर्फ प्रस्थान गर्नुभएको छ ।

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताउनुभयो ।

यस्तै विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूहले पहल गर्ने उहाँले जानकारी दिनुभयो ।

फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीको जनवर्गीय सङ्गठन तथा प्रदेश र जिल्लाको एकताको विषयमा छलफल चलिरहेको र केही समयभित्रै निष्कर्षमा पुगिने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “म फर्केर आउने बित्तिकै एकतामा बाँकी रहेका विषयलाई निष्कर्षमा पु¥याइन्छ । दशैँअगावै एकताका सबै विषयलाई निष्कर्षमा पु¥याइन्छ । कुनै दुविधा रहँदैन ।” चीन भ्रमणको क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।

केही दिन पहिले भारत भ्रमणमा जानुभएका अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेट गरी नेपाल–भारत सम्बन्धमा विविध पाटाका बारेमा छलफल गर्नुभएको थियो ।

त्यर्सैगरी, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि आज दक्षिण कोरियाको राजधानी सियोल प्रस्थान गर्नुभएको छ ।

कोरियाली हेभेन्ली कल्चरल वल्ड पिस, रेस्टोरेशन अफ लाइटले आयोजना गरेको चौंथो वार्षिक सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ जानु भएको प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

यही असोज १ देखि ३ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा पूर्वअध्यक्ष रेग्मीले सम्बोधन गर्नुका साथै नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.