राष्ट्रनिर्माणको अभिभारा र अवसरलाई उपयोग गरौँः प्रम ओली

काठमाडौँको राष्ट्रियसभा गृहमा बुधबारदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूूर्ण बैठकमा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायण काजी श्रेष्ठलगायत नेताहरु । तस्वीर: प्रदीपराज वन्त

काठमाडौँ, १५ माघ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा शुरु भएको छ । पार्टी एकता भएको डेढ वर्षपछि भएको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरिरहनुभएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशङ्का नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गर्नुभएको छ । यहाँ आजदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रयासरत भई सत्यका लागि लड्न आँट गर्ने सरकार भएकाले यसबारे कुनै अन्योल, भ्रम र आशङ्का रहेमा चिरेर जान आग्रह गर्नुभयो ।

उहाँले अहिले लगभग दुई तिहाइको सरकार स्पष्ट सोचका साथ गरीबी, भोकमरी र पछौटेपन अन्त्य गराउँदै विकास र समृद्धिका लागि चाहेको निर्णय गर्न सक्ने मजबुत अवस्थामा रहेकाले कुनै द्विविधा राख्न जरुरी नभएको स्पष्ट गर्नुभयो । “नेपाललाई नयाँ चरणमा लान हामी अग्रसर रहेका छौँ । हामी निर्वाचनबाट जनमत लिएर सरकारमा आएको कम्युनिष्ट पार्टी हौँ । हामी तीव्र आर्थिक विकासको गतिमा छौँ । हामी अब मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा क्रियाशील छौँ । देखिएका कमजोरी भएमा सच्याउन सकिन्छ तर आन्दोलनलाई नोक्सान हुने कुरातिर जानु हुँदैन”, उहाँले भन्नुभयो, “आत्मनिर्भर हुँदै हामी ऊर्जा र कृषि उपज निर्यातको चरणमा जानेछौँ । हाम्रो काँधमा आएको राष्ट्र निर्माणको यो अभिभारा र अवसरलाई उपयोग गरौँ ।”

‘एमसिसी सम्झौता छिटो अनुमोदन हुनुपर्छ’    

प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकासँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा २०७४ साल भदौ २९ गरिएको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतानुसार अमेरिकी अनुदान तथा प्राविधिक सहायता र नेपाल सरकारको लगानीमा विभिन्न आयोजना बन्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्न ढिला गर्न नहुने स्पष्ट गर्नुभयो ।

पाँचवर्षे सो सम्झौताको कतिपय बुँदामा प्रश्न उठे पनि यसलाई कार्यान्वयन गर्नाको विकल्प नभएको जनाउँदै उहाँले भन्नुभयो, “यसमा धेरै विवाद गरिरहनु पर्दैन । यसमा नेपाललाई होच्याउने, अपमान गर्ने वा हिन्द प्रशान्त रणनीतिको सम्बन्धको कुरा छैन । हरेक देशका अनेक अदृश्य स्वार्थ हुन सक्छन् । त्यसमा हामी नजाऔँ । त्यसरी जाने हो भने कुनै मुलुकसँग सम्बन्धै नराख्ने कुरा पनि उठाउन सकिन्छ तर हामीले आफ्नो मुलुकको स्वार्थ र प्राथमिकता हेर्ने हो ।”

काठमाडौंको राष्ट्रियसभा गृहमा बुधबारदेखि सुरुभएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूूर्ण बैठकमा उपस्थित नेताहरु । तस्बिर: प्रदीपराज वन्त

सीमा विवाद कूटनीतिक संवादबाट    

नेपाली भूगाग लिम्पियाधुरालाई आफ्नो नक्शामा समावेश गरी भारतले नक्शा सार्वजनिक गरेकामा उक्त कार्य सुगौली सन्धिको विरुद्ध रहेको भनी पहिलो पटक लिखित पत्राचार गरी छिमेकी भारतलाई आग्रह गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसबारे आफूले संसद्मा विस्तृतरुपमा राख्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “आपसी संवादको माध्यमबाट सीमा विवादको समाधान गर्न सकिनेछ र त्यही प्रयास गरिरहेका छौँ । सरकारले राष्ट्रहितलाई बेवास्ता गर्दैन । यो राष्ट्रवादी र सत्यका लागि लड्न आँट गर्ने सरकार हो । हामी जोसुकैसँग पनि सार्वभौम समानताका आधारमा कुरा गर्न सक्छौँ ।”

‘चौतर्फी र विकास र उपलब्धि’    

सरकारका दुई वर्षका उपलब्धिबारे अवगत गराउँदै उहाँले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको, टनेल बोरिङ मेशिनबाट भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ छेडिएको, अन्तरराष्ट्रिय विमानस्थलहरुको निमार्णमा तीव्रताका साथै अन्य विमानस्थलको व्यवस्थापन शुरु भएको र सङ्घीय संसद् भवनलगायत राष्ट्रिय आवासहरुको निर्माण शुरु भएको बताउनुभयो ।

नेपाल–भारतबीच ४०० केभी प्रसारण लाइन निर्माण शुरु भएको, जनता आवास कार्यक्रम लागू भएको, मेलम्ची खानेपानी आयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी शुरु गरिएको, २२८ स्वास्थ्य भवन बनेको, भूकम्पपछिको पुनःनिर्माणले असाधारणरुपले गति लिएको र ७५३ पुरातात्विक सम्पदामध्ये ३८७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको जनाउनुभयो । उहाँले विद्यालयमा समयमै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने प्रबन्ध भएको, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गरिएको र स्वास्थ्य बीमा कार्यक्रम विस्तार भएको बताउँदै कर्मचारी र श्रमिकको पारिश्रमिक वृद्धि गरिएको, विद्युतीय सुशासन लागू र फोरजी सेवा विस्तार गरिएको, काठमाडौँका सडकमा बेसहारा रहेका व्यक्तिलाई उद्धार गरिएको र खेल क्षेत्रमा प्रोत्साहन गरिएको अवगत गराउनुभयो ।

उहाँले नयाँ कानून निर्माण भइरहेको, सङ्घीय कार्यान्वयनका लागि विभिन्न काम भएको, वित्तीय सङ्घीयता कार्यान्वयनमा ल्याइएको र भ्रष्टाचार न्यूनीकरण शुरु भएको पनि बैठकलाई जानकारी गराउनुभयो । यसैगरी प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारसँगै अन्य मुलुकसँगको सम्बन्ध विस्तार र सगरमाथा संवाद आयोजनाको तयारी हुनुले मुलुकमा लगानी र पर्यटन वृद्धि भई समृद्धिका लागि सहयोग पुग्ने बताउनुभयो ।

उहाँले यती होल्डिङसँग नेपाल ट्रष्टका जग्गा र सम्पत्ति भाडामा लगाउने कार्य विगतदेखि शुरु भएको उल्लेख गर्दै हालका सम्झौता र नवीकरण कानूनसम्मत तथा बजार मूल्यअनुकूल रहेको स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियालाई सबै तहमा पूर्णता दिई तल्लो तहसम्म परिचालन गर्न स्पष्ट मार्गदर्शन दिन बैठक सफल हुने अपेक्षा पनि व्यक्त गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यतालिका छ । यस्तै विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन् । विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.