काँग्रेस संसदीय दलको बैठक शुक्रबार

काठमाडौँ, २ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

“संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्मा राख्न नसकेकाले संसद् यथाश्रीघ चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हौँ”, उहाँले भन्नुभयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको उहाँको भनाइ छ । बैठक दिनको १ः३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।

नेविसङ्घको रिले अनशन एक महिनादेखि जारी

नेपाल विद्यार्थी सङ्घको रिले अनसन एक महिनादेखि जारी रहेको छ । विधानअनुसार नेविसङ्घको १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै गत पुस २ गतेदेखि नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको रिले अनशन आज एक महिना पुगेको छ ।

नेविसङ्घको नयाँ विधानमा ३२ वर्ष मुनिकालाई अध्यक्ष बनाउनुपर्ने व्यवस्था गरेको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिसके पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसङ्घ भने नेतृत्वको खोजीमै अल्मलिएको छ ।

विसं २०७५ माघमा नेविसङ्घका तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएसँगै एक वर्षदेखि नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको छ । नेविसङ्घका नेता नवराज त्रिपाठीले विधानअनुसार २० जिल्लाको महाधिवेशन सम्पन्न भइसकेकाले अव बन्ने तदर्थ समिति विधानअनुसार ल्याउनुपर्ने बताउनुभयो । “विधानअनुसार तदर्थ समिति निर्माण गरेर स्ववियु निर्वाचन र नेविसङ्घको १२औँ महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने अनशनकारीको माग हो”, उहाँले भन्नुभयो । नेविसङ्घ नेता त्रिपाठीले भने विधान मिचेर नेतृत्व आए आमरण अनशन बस्ने बताउनुभयो ।

नेविसङ्घका अर्को नेता सुशील भट्ट स्ववियु निर्वाचनमा अरु विद्यार्थी सङ्गठनसँग प्रतिस्पर्धा गर्नपनि तत्काल तदर्थ समिति निर्माण गर्नुपर्ने बताउनुभयो । “विद्यार्थीको नेतृत्व विद्यार्थीबाटै स्थापित गर्नुपर्छ भन्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो । नेपाली काँग्रेस भने पार्टीभित्रको १४औँ महाधिवेशनको समय तालिका र भ्रातृ संस्थाभित्र नेतृत्व कसलाई दिने भन्ने विवादमा अल्झिएको छ । पार्टीभित्रको विवादका कारण अनशन पनि ओझेलमा पर्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.