जनआन्दोलनका कमान्डर सिंहको योगदान बिर्सन नसकिने
काठमाडौँ, २४ कात्तिक : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा गणेशमान सिंहको योगदानलाई बिर्सन नसकिने बताउनुभएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, सर्वोच्च नेता एवम लौहपुरुष सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा आज सभापति देउवाले विज्ञप्ति जारी गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ । राष्ट्रिय राजनीतिमा लौहपुरुषका रुपमा परिचित एवम अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा समेत प्रभावशाली नेताका रुपमा स्थापित स्व सिंहको त्याग र निष्ठाको भावी पुस्ताले सम्मान गर्ने विज्ञप्तिमा भनिएको छ ।
“पार्टीका अमूल्य निधि एवं धरोहर सिंहको लामो कठिन र सङ्घर्षशील राजनीतिक जीवनका विविध पक्ष तथा उहाँले मुलुकका लागि पु¥याउनु भएको योगदानलाई आज उहाँको जन्मदिनका अवसरमा स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्व सिंहको निष्ठा र सङ्घर्षशील जीवनबाट वर्तमानसँगै भावी पुस्ता पनि निरन्तर प्रेरित रहिरहने सभापति देउवाको विश्वास छ ।
सर्वोच्च नेता सिंहको जन्म १९७१ कात्तिक २४ गते काठमाडौँको चाक्सीबारीमा भएको थियो । उहाँको जन्मजयन्तीका अवसरमा पार्टी, भ्रातृ एवम शुभेच्छुक संस्थाले आज विविध कार्यक्रम आयोजना गरेका छन् ।
सिंहको सालिकमा माल्यार्पण
लौहपुरुष तथा २०४६ सालका जनआन्दोलनका कमान्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ र गणेशमान सिंह फाउन्डेशनको आयोजनामा आज शोभाभगवतीमा रहेको उहाँको सालिक माल्यार्पण गरिएको हो ।
काङ्ग्रेस नेता राजनकुमार केसीले प्रजातन्त्र सुदृढ गर्न स्व गणेशमानका आदर्शलाई व्यावहारिक रुपमा अनुसरण गर्नुपर्ने बताउनुभयो । सोही पार्टीका जिल्लासभापति सबुज बानियाँले विवादित कम्युनिस्टलाई एक ठाउँमा ल्याउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भन्नुभयो । स्व सिंहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
