राप्रपा संयुक्तद्वारा लिपुलेकबारे भारतको ध्यानाकर्षण गर्न माग

काठमाडौँ, २० कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपालको भूभाग लिपुलेक भारतले नयाँ नक्सामा समेटेको विषयमा सरकारले अविलम्ब भारतको ध्यानाकर्षण गर्नुपर्ने माग गर्नुभएको छ । पार्टीका अध्यक्ष डा लोहनीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा लिपुलेक (कालापानीदेखि मेची–महाकालीभित्र) को जग्गा नेपाल र नेपाली जनताको लालपूर्जा भएकाले यसको स्वामित्व नेपालको हुनेहुँदा यसमा तलमाथि हुन नदिन सरकारलाई आग्रह गरिएको छ ।

भारत सरकारले प्रकाशित गरेको नक्सामा देखिएको गल्तीलाई सच्याउनुपर्ने पार्टीको आधिकारिक धारणा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतले हालै कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरी सार्वजनिक गरेको नक्सा अनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको पार्टीले जनाएको छ ।

लामो समयदेखि भारतले अतिक्रमण गरेर राखेको यो क्षेत्रलाई भारतले गत ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्नाभिन्नै केन्द्रशासित प्रदेश (युनियन टेरिटरी) जम्मु–कश्मीर र लद्दाखसहितको देशको औपचारिक राजनीतिक नक्सा गएको शनिबार सार्वजनिक गर्दा नेपालको भूभाग पनि आफ्नो सीमाभित्र मिसाएको पार्टीले जनाएको छ ।

नापी विभागले गत फागुनमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सार्वजनिक गरेको नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटिएको छ । यो क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै नागरिक अगुवा, अधिकारकर्मी, विभिन्न विद्यार्थी सङ्गठनलगायतले विरोध जुलुस निकालेका छन् ।

केही वर्ष अगाडि तत्कालीन एमाले सम्बद्ध विद्यार्थी सङ्गठनले लिपुलेक पुगेर ‘लिपुलेक हाम्रै हो’ भन्दै राष्ट्रिय झण्डा फहराएका थिए । दार्चुला जिल्लामा पर्ने लिपुलेकको जनगणना विसं २०१८ मा पहिलोपटक तत्कालीन सरकारले गरेको अभिलेख छ ।

यसैबीच उक्त पार्टीले यही कात्तिक २८ गतेदेखि आगामी मङ्सिर ४ गतेसम्म देशका विभिन्न स्थानमा गर्न लोगेको धार्मिक यात्रामा सम्बन्धित क्षेत्रका पार्टीका नेता तथा कार्यकर्तालाई सहभागी हुन निर्देशन दिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । जनकपुरको जानकी मन्दिर परिसरबाट शुरु हुने यात्रा महोत्तरी, सर्लाही, रौतहट, मकवानपुर, नवलपरासी हुँदै लुम्बिनीमा आएर समापन हुनेछ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा राखिएको भनी आपत्ति

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा राख्दै छिमेकी राष्ट्र भारतले हालै जारी गरेको नक्साप्रति मौलिक जरोकिलो पार्टीले आपत्ति जनाएको छ । सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकालीलाई बनाएको हुँदा उक्त विन्दुभन्दा एक इन्च मात्रै वर सार्ने कामको कूटनीतिक तवरबाट प्रतिवाद गर्न पार्टीले सरकारसँंग माग गरेको छ ।

लिम्पियाधुरा, कुट्यिाङ्दी, लिपुलेक र कालापानी नेपालका भू–भाग भएको उल्लेख गर्दै पार्टीका प्रवक्ता लीलाबहादुर बानियाँले यी क्षेत्रलाई भारतीय पक्षको अनधिकृत कब्जाबाटमुक्त गराई वैज्ञानिक किसिमले सीमा व्यवस्थापन गर्न माग गर्नुभएको हो । नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी गरी करीब ५४ वटा स्थानमा सीमा विवाद रहेको पार्टीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सत्तामा रहुञ्जेल समाधानको निम्ति उदासीन देखिने र सत्ताबाट हटेपछि सोही विवादलाई राष्ट्रियताको मुद्दा बनाउँदा छिमेकी देशले नटेर्ने गरेको हो”, विज्ञप्तिमा भनिएको छ । नेपालको दुवैतिर भौगोलिक, आर्थिक र सामरिक दृष्टिकोणले विशाल देश रहेको हुँदा राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ताको मामलामा सबै दल राज्यराष्ट्र सिद्धान्तको आधारमा अन्तर्राष्ट्रिय सिमानाको नेपालसापेक्ष सुव्यवस्था गर्न एकजुट हुन पनि पार्टीले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.