विज्ञान शिक्षकदेखि प्रदेश प्रमुखसम्म कलौनी

भीमदत्तनगर, १९ कात्तिक : सुदूरपश्चिममा पार्टीप्रति बफादार र इमान्दाररूपमा खटिनुभएका नेपाल कम्युनिस्ट पार्टीका अग्रज नेता गोविन्दप्रसाद कलौनी कर्णाली प्रदेश प्रमुख बन्नुभएको छ ।

विसं २०४८ देखि डडेल्धुराबाट राजनीतिमा होमिनुभएका कलौनी राजनीतिक जीवनमा निर्वाचनमा पराजित भए पनि राजनीतिमा बेइमानी नगरेकै कारण पार्टीले उहाँप्रति न्याय गरेको यहाँका नेकपाका नेताहरुको भनाइ छ ।

डडेल्धुरा, बैतडी र पछिल्लो समय कञ्चनपुरलाई राजनीतिक कर्मथलो बनाउनुभएका कलौनी यहाँको कृष्णपुर नगरपालिका–२ वाणी बस्दै आउनुभएको छ । कृष्णपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं–२ का वडाअध्यक्ष जयनारायण जोशीले पार्टीले नेता कलौनीप्रति न्याय गरेको भन्दै खुसीयाली व्यक्त गर्नुभयो । “२०७४ सालको प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुँदा यहाँबाट पार्टीले उम्मेदवारमा सिफारिससमेत गरेको थियो”, वडाध्यक्ष जोशीले भन्नुभयो, “पार्टीको जिल्लादेखि केन्द्रीय तहसम्म विभिन्न पदमा बसेर काम गर्नुभएको छ ।”

सामान्य पारिवारिक जीवन निर्वाह गर्दैै आउनुभएका कलौनी डडेल्धुराको जोगबुढामा रहेको सिद्धनाथ माविमा विज्ञान विषयको शिक्षक समेत हुनुहुन्थ्यो । “हाम्रो विद्यालयमा करिब आठ वर्षजति सहायक प्रधानाध्यापक भएर कलौनी सरले काम गर्नुभयो ।” तत्कालीन सिद्धनाथ माविका प्रधानाध्यापक जगदीश भट्टले भन्नुभयो, “उहाँ विषयगत दखल भएको शिक्षक पनि हो ।”

सिद्धनाथ माविबाट जोगबुढाको आलितालमा रहेको दुर्गा माविमा केही समय प्रधानाध्यापक समेत बनेको भट्टको भनाइ छ । विसं २०४८ को आमनिर्वाचनमा काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराबाट पराजित हुनुभएको थियो भने २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा पुर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग पराजित हुनुभएको थियो । पार्टीमा जिल्लादेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी निर्वाह गरिसक्नुभएका कलौनी पार्टीभित्र अवसर नपाएका नेताका रूपमा पनि चिनिनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.