काङ्ग्रेसमा सैद्धान्तिक विचलन आएको छः अध्यक्ष थापा 

भक्तपुर, ११ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काङ्ग्रेसले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाउनुभएको छ ।

राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको एजेण्डा छाडेर काङ्ग्रेसले प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाउनुभएको हो ।

अध्यक्ष थापाले भन्नुभयो, “काङ्ग्रेसले प्रचण्डको भरिया भएर उसको एजेण्डा बोकेर हिँडेकाले देशमा अहिले योजनाबद्ध रुपमा प्राचिन र मौलिक धर्म संस्कृतिमाथि आक्रमण भइरहेको छ ।”

नेपालको धर्म र संस्कृति त्यागेर विदेशी धर्म स्थापना गर्ने दुस्प्रयास भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले ठूला दलका केही वरिष्ठ नेताहरु नै विदेशीको प्रभावमा पर्दा नेपालको धर्म, संस्कृतिमा सङ्कट आएको बताउनुभयो ।

अध्यक्ष थापाले नेपालको धर्म संस्कृतिमा भइरहेको अतिक्रमणलाई रोक्न नसके यहाँको पहिचान र अस्तित्व गुम्ने उल्लेख गर्दै राप्रपाले हिन्दू राष्ट्रका लागि आन्दोलन र अभियान सञ्चालन गरेको तथा यो कुनै पार्टी वा धर्म विरुद्ध नभई हिन्दू धर्ममाथि बढ्दो बाह्य आक्रमण रोक्न चालेको अभियान भएको बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, “माओवादीले गलत बिरुवा रोप्यो, धतुरो रोपेर आँप फल्दैन, अहिले नेकपा मात्रै होइन काङ्ग्रेसमा पनि सैद्धान्तिक विचलन आएको छ ।”

राप्रपा भक्तपुर जिल्ला अध्यक्ष माधव खत्रीले हिन्दू राज्यको अभियानमा सहभागी हुन कार्यक्रममा विभिन्न दलहरु परित्याग गरी राप्रपा प्रवेश गर्नेलाई टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

सङ्गठन विस्तारमा लाग्न अध्यक्ष थापाको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुलाई हरेक जनतामा पु¥याउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

ट्रेड युनियन महासङ्घ नेपाल (टुकोन)द्वारा विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले २०७६ साललाई पार्टीको सङ्गठन निर्माण वर्ष घोषणा गरिएकाले चाडपर्वको अवसरमा गाउँ पुगेका बेला सङ्गठन विस्तारमा क्रियाशील हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो ।

विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा पनि अध्यक्ष थापाले शुभकामना व्यक्त गर्नुुभयो ।

वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले बडादशैं तथा दिपावलीको अवसरमा दुर्गा भवानीले देश विकास र समृद्धिको मार्गमा लाग्न सबैलाई सद्बुद्धि प्रदान गरुन भनी कामना समेत गर्नुभयो ।

टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य, विभिन्न भातृ सङ्गठनका पदाधिकारी तथा सदस्य लगायत टुकोनसँग आवद्ध व्यक्तित्वले शुभकामना आदान प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.