कम्युनिष्ट एक नभए विकास असम्भव : पूर्वप्रधानमन्त्री खनाल
इलाम, २७ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई आवश्यकता परेकै कारण दुई ठूला शक्ति (एमाले र माओवादी केन्द्र)बीच एकता भएको बताउनुभएको छ ।
समान विचारधारा भएका शक्तिहरू फरक सङ्गठन र पार्टीमा रहँदा मुलुकको आवश्यकता पूरा नहुने भएपछि पार्टी एकता भएको खनालले जिकिर गर्नुभयो । उहाँले सबै कम्युनिष्ट एक नभएमा मुलुकमा विकास सम्भव नहुने बताउनुभयो ।
गृहजिल्ला इलाममा आज पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिँदै वरिष्ठ नेता खनालले पुष्पलालले पार्टी निर्माण गरेको ५६ वर्षपछि मात्र एकता भएर एक ठाउँ आइपुगेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले निर्वाचन पद्धति महँगो भएकाले परिवर्तन गर्नुपर्नेसमेत विचार व्यक्त गर्नुभयो । निर्वाचन प्रणाली महँगो हुँदा सामान्य व्यक्तिले चुनाव लड्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
‘अधिनायक भन्नेहरु संविधान पढ्नुहोस्’
सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान सरकारलाई अधिनायकवादी र लोकतन्त्र विरोधी भन्नेलाई संविधान पल्टाएर पढ्न सुझाव दिनुभएको छ । आफ्नै नेतृत्वले निर्माण गरेको संविधान आफैँले ‘कुल्चन’ नसक्ने भन्दै नेम्वाङले संविधानको मर्म र भावना बाहिर कोही पनि जान नसक्ने स्पष्ट पार्नुभयो ।
संविधानले सबै पक्षको भावना समेटेर अघि बढेको भन्दै नेम्वाङले यसबारेमा औँला उठाउनु नपर्ने बताउनुभयो । नेम्वाङले कम्युनिष्ट नेतृत्वमा नभएको भए संविधान निर्माण नहुने बताउनुभयो । उहाँले मुलुकमा विभिन्न समयमा भएका आन्दोलनको प्रतिफलसमेत संविधानले दिएको बताउनुभयो । नेम्वाङले मुलुक स्थिरता र विकासको ढोका मानिने संविधान निर्माण गर्ने काम कम्युनिष्ट नेतृत्वकै कारणमात्र सम्भव भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “सबै दललाई एक बनाउने काम हामीले नै ग¥याँै ।”
