स्व भण्डारीको ६८औं जन्मजयन्ती : असारभित्रै पार्टी एकताका बाँकी काम सकिन्छ – प्रधानमन्त्री ओली

जननेता स्व मदन भण्डारीको ६८औं जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली । तस्वीर: प्रदीपराज वन्त

काठमाडौँ, १४ असार : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असार महीनाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न गरिने बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकताको बाँकी काम सम्पन्न गराउन ढिलाइ भइरहेको सन्दर्भमा उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “एकतामा ढिलाइ भयो भनेर निरास हुनुपर्ने अवस्था छैन, यस आर्थिक वर्षभित्र एकता एकीकरणका सम्पूर्ण काम सम्पन्न हुन्छन् । अर्को आवमा पार्टी गतिशील ढङ्गबाट अघि बढ्छ ।

वर्तमान सरकार गठन भएदेखि नै सरकारले जनताको चाहनाअनुसारको काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा हासिल गरेरै छाड्ने बताउनुभयो । “सरकारले धेरै राम्रो काम गरेको छ”, उहाँले भन्नुभयो, “लोकतन्त्रको संस्थागत विकास, सुदृढीकरण, समृद्धि हासिल गर्न सरकार स्पष्ट र दृढ छ ।”

सरकार अनियमिता र भ्रष्टाचारीविरुद्ध कडा ढङ्गबाट प्रस्तुत भएको जानकारी दिँदै प्रधानमन्त्रीले भ्रष्टाचार गर्न कोही कसैलाई पनि छुट नभएको बताउनुभयो । “म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, मुलुकमा सुशासन कायम गरेरै छाडिन्छ”, उहाँले भन्नुभयो ।

वर्तमान सरकार गठन भएसँगै विकास निर्माणमा केन्द्रित भएको जानकारी दिँदै प्रधानमन्त्रीले यस अवधिमा जोखिम अवस्थामा रहेका तुइन विस्थापित भई ४०० भन्दा झोलुङ्गे पुल निर्माण गरिएको बताउनुभयो । एक हजार किलोमिटरभन्दा बढी पक्की सडक निर्माण गरिएको उहाँको भनाइ थियो ।

‘दशैँसम्म सरकारको आलोचना समाप्त हुन्छ’    

काठमाडौँ उपत्यकालाई व्यवस्थित र प्रदूषणरहित बनाउन सरकारले प्रयास गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “विगत एक वर्ष र अहिलेको काठमाडौँको तुलना गर्नुस्, आफैँ थाहा पाइहाल्नुहुन्छ ।” वर्तमान सरकार गठन भएपछि चालू आवमा ७.१ प्रतिशतको आर्थिक वृद्धि भएको तथ्याङ्क पेश गर्दै उहाँले भन्नुभयो, “यो अवधिमा सरकारले गर्ने जति सबै काम गरेको छ । एक हजार किलोमिटर सडक कालोपत्र भएको छ । अन्य क्षेत्रमा पनि उल्लेख्य प्रगति भएका छन् ।”

वर्तमान सरकारले जनअपेक्षाअनुसार कार्यसम्पादन गर्न नसकेको भनी आलोचना गर्नुकोसमेत कुनै अर्थ नरहेको प्रधानमन्त्रीको भनाइ थियो । सरकारले राम्रा काम अगाडि बढाए पनि कानून र संस्थागत संरचना निर्माणमा व्यस्त भएकाले जनतालाई जानकारी गराउन नपाएको प्रधानमन्त्रीको प्रस्टोक्ति थियो । उहाँले भन्नुभयो, “नयाँ आर्थिक वर्षसँगै सरकार नयाँ गतिमा अगाडि बढ्छ र दशैँसम्म आलोचना समाप्त हुन्छ ।”

कार्यक्रममा उपस्थित प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल लगायत । तस्वीर: प्रदीपराज वन्त

जनताको जनवाद तत्कालीन कार्यक्रम    

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुँदा जनताको जनवादलाई तत्कालीक कार्यक्रमका रुपमा अगाडि सारिएको उल्लेख गर्नुभयो । “जनताको बहुदलीय जनवाद नेपाली समाजको समग्र परिवर्तन ल्याउने, लोकतान्त्रिक मूल्य मान्यतामा आधारित सामाजिक न्याय प्रदान गर्ने तथा समाजवादमा पुग्ने उद्देश्य र पाटा प्रस्तुत गरिएको सिद्धान्त हो”, नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले भन्नुभयो, “यही सिद्धान्तबाट नेपाली समाज अग्रगामी परिवर्तनको दिशामा अगाडि बढेको छ ।”

उहाँले विश्वभर कम्युनिष्ट आन्दोलन असफलतातर्फ गइरहेको तत्कालीन अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनलाई समयानुकूल ढङ्गबाट अगाडि बढाउन स्व. जननेता भण्डारीले विशिष्ट योगदान गर्नुभएको बताउनुभयो । “माक्र्सवादको सही र सिर्जनात्मक प्रयोग गर्ने अध्यायका रुपमा स्व भण्डारीले जबजको विकास गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “जसले नेपालको कम्युनिष्ट आन्दोलनलाई आलोचना र विरोधको हावाहुरीबाट माथि उठ्न मद्दत गरेको थियो ।”

जननेता स्व. भण्डारी बहुआयामिक व्यक्तित्वका रुपमा रहनुभएको चर्चा गर्दै प्रधानमन्त्रीले भण्डारी नेताबाट माथि उठेको सफल नेताका रुपमा हुनुहुन्थ्यो भन्नुभयो । “स्व भण्डारी अत्यन्त प्रखर, कुशल, तार्किक हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “स्व भण्डारीको विचार, दृष्टिकोण सुनेपछि त्यसबाट प्रभावित भएर उहाँले देखाएको बाटोमा लामबद्ध हुन्थ्यो ।”

सिद्धान्तका नाउँमा गतिहीन, नक्कली सिद्धान्तलाई स्व भण्डारीले कहिल्यै पनि अङ्गीकार नगरेको स्मरण गर्दै प्रधानमन्त्रीले ठीक ढङ्गले माक्र्सवादलाई बुझ्ने र गतिशील ढङ्गबाट त्यसको व्याख्या गर्ने वक्ताका रुपमा आफूले पाएको बताउनुभयो ।

मुलुकलाई सफल बनाउन सबैको सहकार्य आवश्यक : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको कार्यक्रममा उहाँले जनआकांक्षालाई सम्बोधन गर्ने विषयमा असफल भए प्रणाली नै असफल हुने सङ्केत गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “दुई नेताको मात्रै असफलता हुनेवाला छैन । त्यो नेकपाको मात्रै असफलता हुनेवाला छैन । पार्टी एकता गरेर असफल भइसकेपछि कम्युनिष्ट आन्दोलन फेरि यहीरुपमा उठ्न सायदै सम्भव हुँदैन । यो पार्टी मात्रै सकिएर काङ्ग्रेस छँदैछ नी काङ्ग्रेसले नेतृत्व गर्ला भन्नेस्थिति पनि नेपालमा अब छैन ।” उहाँले जनताका आकाङ्क्षा सम्बोधन गर्ने र राष्ट्रिय अन्तरराष्ट्रिय शक्तिलाई सन्तुलन राख्ने प्रक्रियामा सबैको समान बुझाई, चिन्ता र सामूहिक मेहनत नभए आफूहरु नै असफल हुने खतरातर्फ जाने सक्ने सङ्केत गर्नुभयो ।

“मदन भण्डारीको देशभक्ति, उद्देश्यप्रतिको निष्ठा र प्रतिक्रियावादीप्रतिको उहाँको वर्ग दृष्टिकोणका कारण उहाँ महान् हुनुहुन्थ्यो भनेर नै हामी भन्छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “त्यसो भन्छौँ भने कहिलेकाहीँ मलाई चिन्ता लाग्ने कुरो के हो भने हामी आजभोलि आफ्नो ‘छाला’ बचाउन तिर लाग्नेमा त छैनौँ कतै ? भाषा नरम गरेर नरिसाउन प्रतिक्रियावादी भन्ने तिर पो जान लागेका त छैनौँ ? हामी मारिएका छैनौँ अहिलेसम्म । मारिन पनि सक्छौँ । यहा विचारणीय छ ।”

जननेता भण्डारीको अवसान हत्या वा दुर्घटना भन्ने अझै पनि अन्योल नै रहेको उल्लेख गर्दै उहाँले नेपालको इतिहासमा भएका ठूला राजनीतिक नेतृत्वको हत्या वा प्रतिहत्याको घटनामा संलग्न पत्ता लाग्न नसक्नु दुःखद् भएको बताउनुभयो । “हिजोको समयमा भएका कोतपर्व हुन् या दरबार हत्याकाण्ड, त्यस्तै ठूला राजनीतिक हत्यामा संलग्नलाई जनसमक्ष ल्याएर कारवाही गर्न हामीले सकेका छैनौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “यस्ता ठूला घटनाको सत्यतथ्य पत्ता लगाउन सकेनौँ भने फेरि त्यस्तो घटना नदोहोरिएला भन्न सकिँदैन, घटनाको दोषीलाई कारवाही गर्न डरायौँ भने परिस्थिति जटिल बन्न सक्छ ।”

जनअपेक्षाअनुरुप नेपालको विकास गर्न तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समान धारणा रहेकाले दुई पार्टी एक भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले समृद्ध नेपाल निर्माण गर्न दुई दल सहमत भएको बताउनुभयो । अहिले कोही कसैले आग्रह र पूर्वाग्रह राखेर हिँड्नुको कुनै अर्थ नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी कुनै आग्रहका साथ पछि हट्ने होइन, पूर्वाग्रह राखेर पनि होइन, स्व भण्डारीले जस्तै गतिशील भएर मिल्न सक्ने जति सबैलाई मिलाएर अघि बढ्ने सङ्कल्प नै अहिलेको आवश्यकता हो ।”

जनताको मन जित्न, आन्दोलनका लागि उत्साहित बनाउन र क्रान्तिकारीप्रति तिखो प्रहार गर्न सक्षम नेताका रुपमा आफूले स्व भण्डारीलाई पाएको उहाँको भनाइ थियो । “स्व भण्डारी जड, सङ्कीर्ण हुनुहुन्थेन, देशकाल र परिस्थितिअनुसार आफूलाई बदल्न तयार हुनुहुन्थ्यो”, अध्यक्ष दाहालले भन्नुभयो, “यसकारण स्व मदन अरुभन्दा भिन्न हुनुभयो, सधैँ श्रद्धाको पात्र रहनुभयो ।”

गतिशील, परिस्थितिको ठीक मूल्याङ्कन गर्दै नीति, कार्यक्रमलाई विकास गर्नसक्ने र माक्र्सवादको आत्मालाई दह्रोसँग समेट्ने नेताका रुपमा आफूले स्व भण्डारीलाई पाएको स्मरण गर्दै उहाँले जनताको मन जित्ने विचारको निर्माण गर्दै गतिशीलतालाई आत्मसात् गर्ने नेताका रुपमा आफूले जानेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “अन्तरराष्ट्रियरुपमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला स्व भण्डारीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन जनताको बहुदलीय जनवादका रुपमा कार्यक्रमको निर्माण गर्नुभयो ।”

सोही अवसरमा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनअपेक्षाअनुसार अगाडि बढ्न वर्तमान सरकारलाई आग्रह गर्नुभयो । उहाँले वर्तमान सरकार स्थायी भएकाले पनि जनअपेक्षा पूरा गर्ने मार्गमा लागे त्यसलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

उहाँले प्रतिपक्षलाई पनि मिलाएर लैजानेतर्फ सरकार र सरकार सञ्चालन गर्ने पार्टीको नेतृत्व सजग हुनुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेस र कम्युनिस्टको सहकार्यमा मात्रै नेपालमा राजनीतिक परिवर्तन भएको र मदन भण्डारीले पनि त्यसैमा जोड दिनुभएको प्रसङ्ग जोड्दै नेता सिटौलाले सहकार्य, सहमति र एकताबाट मात्रै अगाडि बढ्न सकिने उल्लेख गर्नुभयो ।

नेकपाका तर्फबाट निर्वाचित सांसद हृदयेश त्रिपाठीले तराई–मधेशमा सङ्गठन विस्तार गर्न र नेकपालाई थप सङ्गठित गर्न आग्रह गर्नुभयो । नेता त्रिपाठीले विसं २०४८ मा नै जननेता भण्डारीले तराई–मधेशमा कम्युनिस्ट पार्टी किन लोकप्रिय हुन सकेन भनेर अध्ययन गरेको स्मरण गर्दै भन्नुभयो, “तराई–मधेशमा पनि ध्यान दिनुस् । नीति र कार्यक्रम तय गर्नुस् ।”

प्रतिनिसभाका कूल १६५ निर्वाचन क्षेत्रमध्ये ५९ मा थारु तथा मधेशी समुदाय निर्णायक रहेको तथ्य पेश गर्दै उहाँले गम्भीर भएर नीति तथा कार्यक्रम बनाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र दाहाललाई आग्रह गर्नुभयो ।

तराईमा कूल ३० प्रतिशत मतदाता काङ्ग्रेसका वंशज मतदाता भएको भन्दै बाँकी रहेको ७० प्रतिशतलाई आफ्नो पक्षमा पार्न जोडबल गर्नुपर्नेमा उहाँले सुझाव दिनुभयो । उहाँले बाम आन्दोलनलाई राजमार्गबाट दक्षिणतर्फ विस्तार गर्नसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला सङ्घका संयोजक अमृता थापा मगरले मदन भण्डारीको राजनीतिक दृष्टिकोणबाट प्रभावित भएर आफू राजनीतिमा लागेको भन्दै जननेता भण्डारीको विचार र दृष्टिकोणलाई वर्तमान परिप्रेक्षमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा प्राडा सुवोधशर्मालाई हस्तान्तरण गर्दैै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली । तस्वीर: प्रदीपराज वन्त

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रा डा शर्मालाई

मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट प्राध्यापक डाक्टर सुवोध शर्मा सम्मानित हुनुभएको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ ।

जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा शर्मालाई सम्मान गर्नुभएको हो । काठमाडौँ विश्वविद्यालय स्कूल अफ साइन्सका रजिष्ट्रारसमेत रहनुभएका प्रा डा शर्माले नेपाल, भूटानलगायत दक्षिण एशियाली देशको पानी र जलाधारको विषयमा मिहिन अध्ययन गर्दै आउनुभएको छ ।

यस्तै अफ्रिकी मुलुक इथोपियाको समेत पानी र जलाधारको क्षेत्रमा अध्ययन गर्नुभएको छ । आफ्नो आमाको प्रेरणाबाट हिमाली क्षेत्रका ताल तलैया, पानी र जलाधारको संरक्षणका क्षेत्रमा लाग्न प्रेरित गरेको उल्लेख गर्दै उहाँले काठमाडौँ उपत्यकाको चारैतिर जलाधार संरक्षणका लागि ठूलाठूला पोखरी निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।

काठमाडौँका डाँडाडाँडामा पानी पोखरी बनाउनुपर्नेमा रिसोर्ट बनाउन थालिएकामा समेत पुरस्कृत व्यक्तित्व शर्माले दुखेसो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आदिमकालमा काठमाडौँको पानी बाहिर पठाउन एउटा मञ्जुश्री आएका थिए । काठमाडौँ उपत्यकामा पानी बढाउन अब पाँच वटा मन्जुश्रीको आवश्यकता देखिएको छ ।”

उक्त पुरस्कारबाट यसअघि डा भगवान् कोइराला, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, महावीर पुनलगायत पुरस्कृत भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.