‘मदन भण्डारी संग्रहालय’ निर्माण
तत्कालीन नेकपा एमाले का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ ।
पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले संग्रहालय निर्माण गरेको हो ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सो संग्रहालय आइतबारदेखि सर्वसाधरणका लागि खुला गरिनेछ । दश वर्षअघि ‘मदन भण्डारी स्मृति कक्ष’ बाट निर्माण शुरु गरिएको संग्रहालय भवन भूकम्प प्रतिरोधात्मक क्षमताको तीनतले छ भने जसमा १६ कक्ष छन् ।
संग्रहालय प्रवेशद्वारमा नेता भण्डारीको तस्वीर र उहाँ जन्मिएको ताप्लेजुङको ढुंगेसाँघु गाउँदेखि अन्त्यमा चितवनको दासढुंगामा उहाँ सवार दुर्घटनामा परेको बा अ च ८७९३ नंको जीप राखिएको छ । संग्रहालय प्रवेश गरिसकेपछि पश्चिमपट्टिको भित्तामा उहाँको व्यक्तित्व झल्काउने दश मिनेटको श्रव्यदृष्य प्रदर्शन गरिएको छ ।
नेता भण्डारी पहिलो पटक सात सदस्यीय नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएको देखाइएको छ ।