काङ्गे्रसलाई वैकल्पिक शक्तिको हैसियत बनाउनुपर्ने : वरिष्ठ नेता पौडेल

जनकपुरधाम, २५ वैशाख : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्गे्रसलाई जनताको चाहनाअनुसार वैकल्पिक शक्तिका रूपमा उभ्याउन हैसियत बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । राष्ट्रिय जागरण अभियानअन्तर्गत जनकपुरधाममा आयोजित सभामा नेता पौडेलले सरकारका काम जनअपेक्षाअनुरुप नभएको भन्दै गर्दै पार्टीले सशक्त विरोध गर्नुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य बलबहादुर केसीले सरकारले संविधान, सङ्घीयतालाई कागजको खोस्टोमा परिणत गर्न खोजेको आरोप लगाउनुभयो । प्रदेशसभा सदस्य रामसरोज यादवले सरकारले स्वतन्त्रतामाथि अङ्कुश लगाउने क्रियाकलाप गरिरहेको आरोप लगाउनुभयो ।

पोखरा–नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुदृढ र एकताबद्ध काङ्ग्रेस राष्ट्रको आवश्यकता भएको बताउनुभएको छ । काङ्ग्रेसले आजदेखि देशैभर सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको आज पोखरामा उद्घाटन गर्दै उहाँले आपसी मनमुटाव त्याग्दै केन्द्रदेखि वडा तहसम्म पार्टी एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीभित्रको आन्तरिक एकता पहिलो आवश्यकता भएको धारणा राख्नुभयो । काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले अभियानलाई जिल्लाका हरेक तहमा लैजाने बताउँदै यसले पार्टीलाई थप क्रियाशील बनाउने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा महामन्त्री खड्काले नेपाल प्रेस युनियन कास्कीले प्रकाशन गरेको २०७६ सालको पात्रो लोकार्पण गर्नुभयो ।

सुर्खेत–काङ्गे्रसका केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले गुट–उपगुटमा विभाजित भएर पार्टीलाई कमजोर नबनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आजदेखि शुरु भएको देशव्यापी जागरण अभियानअन्तर्गत वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले कार्यकर्तालाई एकताबद्ध भएर पार्टीका गतिविधिमा लाग्न आग्रह गर्नुभयो ।

पार्टी केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरुको अभियान विपक्षीलाई गाली गर्ने नभई पार्टी सङ्गठनलाई सक्रिय पार्नु रहेको बताउनुभयो । जिल्ला पार्टी सभापति कमलराज रेग्मीले हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

हेटौँडा–काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरशिंह केसीले काङ्ग्रेसका नेता र कार्यकर्ताकाबीच पार्टी सुदृढीकरणका लागि अहिले विचारमा पुनःजागरणको आवश्यकता खड्केको बताउनुभएको छ । उहाँले काङ्ग्रेस केन्द्रीय समितिद्वारा आह्वान गरिएको राष्ट्रिय जागरण अभियानको प्रथम चरणको कार्यक्रम काङ्ग्रेस मकवानपुरद्वारा आज आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै काङ्ग्रेसका कार्यकर्ताकाबीच गुटगत वैमनष्य दुव्र्यवहारलाई त्यागेर सत्य निष्ठाको यथार्थ धरातलमा उभिएर कार्यकताले पार्टीका नेतृत्वलाई यथार्थ कुरा भन्न सक्नु नै काङ्ग्रेसको पहिचान हो भन्नुभयो ।

काङ्ग्रेसका प्रदेश नं ३ प्रदेशसभामा प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले प्रजातन्त्रको सुदृढीकरण गर्नका लागि काङ्ग्रेसका कार्यकर्ता जनताको घरदैलोमा पुग्न आवश्यक रहेको चर्चा गर्नुभयो । कार्यक्रममा नारायणी यातायात व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सचिव ठाकुर सुवेदी र कोषाध्यक्ष राजेन्द्र खड्गी काङ्ग्रेसमा प्रवेश गर्नुभयो ।

तुलसीपुर–काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचनमा काङ्ग्रेसले काङ्ग्रेसलाई नै भोट नहालेका कारण पार्टीले हार व्यहोर्नुपरेको बताउनुभएको छ । उहाँले अब त्यस्तो प्रवृत्तिलाई सच्याएर काङ्ग्रेस तिखारिएर जानुपर्ने बताउनुभयो । काङ्ग्रेस दाङले घोराहीमा आजदेखि शुरु गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेस एक हुनु पहिलो जागरणको सन्देश भएको बताउनुभयो ।

पूर्वसञ्चालमन्त्रीसमेत रहनुभएका बस्नेतले वर्तमान सरकारले गर्ने गलत कार्यको खुलेर विरोध गर्न र जनताका साथमा उभिनसमेत नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । विकास विरोधी आफूहरु नभएको तर सरकारले गर्ने गलत कार्यको भने भण्डाफोर गरेर सचेत पार्न आग्रह गर्नुभयो ।

भक्तपुर – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले काङ्ग्रेसले आजदेखि शुरु गरेको देशव्यापी जनजागरण अभियान सत्ता प्राप्तिका लागि नभई जागरणका लागि भएको बताउनुभएको छ ।
जनजागरण अभियानअन्तर्गत आज भक्तपुरको दूधपाटीमा आयोजित कार्यक्रममा उहाँले काङ्ग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्ने बताउनुभयो । जनताले सत्तामा पठाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताको चाहनाअनुरुप काम गर्नुपर्ने र जनताको पक्षमा काम गर्न दबाब सिर्जना गर्न अभियान सञ्चालन गरिएको उहाँको भनाइ थियो । नेता रिजालले काङ्ग्रेस आफैँ भित्रको कलहबाट बाहिर निस्केर बदलिनुपर्ने र सुध्रिनुपर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा काङ्ग्रेस नेत्री रजनी जोन्छे र काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जनताको चाहनाअनुरुप सरकारलाई काम गर्न दबाब दिनका लागि काङ्ग्रेसले अभियान चाल्नु परेको बताउनुभयो ।
दमौली – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जागरण अभियानमार्फत पार्टीलाई बलियो बनाउने सङ्कल्प गर्न आवश्यक रहेकामा जोड दिनुभएको छ । काङ्ग्रेसको आह्वानमा आजदेखि शुरु भएको राष्ट्रिय जागरण अभियानको तनहुँको दमौलीमा उद्घाटन गर्दै जोशीले पार्टीभित्र भएका असहमति र वैमनस्यतालाई अन्त्य गरी काङ्ग्रेसलाई बलियो बनाउन दृढ सङ्कल्प सबैले गर्न आवश्यक रहेको बताउनुभयो । काङ्ग्रेस–काङ्ग्रेसबीचको द्वन्द्वले पार्टी कमजोर हुँदै गएकाले भोलि देशको नेतृत्व गर्न सक्ने पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
काङ्ग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले काङ्ग्रेसभित्र सुमधुर सम्बन्ध बनाउन र आफैँभित्र जागरण ल्याउन राष्ट्रिय जागरण अभियानले सहयोग पुग्ने बताउनुभयो । राष्ट्रिय जागरण अभियानमार्फत जिल्लामा क्षेत्रीय र स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने काङ्ग्रेस तनहुँका सचिव विश्व बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार सो अभियानअन्तर्गत गाउँ–गाउँमा पुगेर सदस्यता वितरण, अभिलेख सङ्कलन, अग्रजलाई सम्मानलगायत कार्यक्रम सञ्चालन गरिनेछ ।
कपिलवस्तु –  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले विगतका कमजोरी आत्मसात् गरी पार्टीलाई सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । काँगे्रस कपिलवस्तुले राष्ट्रिय जागरण अभियानका क्रममा बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा सञ्चालित कार्यक्रममा भण्डारीले पार्टीभित्र सबैलाई समान अवसर दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो , “सरकारको एक वर्षको यस कार्यकालमा आश्वासन क्रम चलिरहयो तर उल्लेख्य उपलब्धि केही हासिल नभएकाले सरकारप्रति गहिरो निराशा छाएको छ ।” उहाँले जनतालाई अनुकूल पर्ने ठाउँमा जहाँ बाँझो जग्गा छ त्यहीँ नै राजधानी बनाउनुपर्ने विचार राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal